बोल्न चाहनेहरुका लागि ‘द स्पिकिङ्ग टाइटन’को घोषणा

बोल्न चाहनेहरूका लागि नयाँ रियालिटी शो ‘द स्पिकिङ्ग टाइटन’को घोषणा गरिएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ शैलीको शोको घोषणा गरिएको हो । यो शोमा सहभागी हुनका लागि इच्छुक व्यक्तिहरूले डिजिटल अडिसन दिन सक्ने उल्लेख गरिएको छ । 

यो शोमा सहभागी हुन चाहनेहरूले ३ मिनेटको कुनै पनि भिडियो पठाउन सक्ने आयोजकले जनाएको छ । यो प्रतियोगिताका लागि विश्वभरबाट नेपाली भासीले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुनका लागि कम्तीमा पनि सहभागीको उमेर १५ बर्षको हुनुपर्ने र स्वतः स्फूर्त रुपमा बोल्न सक्ने क्षमतवान् हुनुपर्नेछ ।

यसपछि, जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरि फिजिकल अडिसनका लागि निमन्त्रणा गरिनेछ । यो शोको निर्णायकका लागि दिल भूषण पाठक, माल्भिका सुब्बा र रञ्जित आचार्य छन् । कार्यक्रमको संचालक तथा मेन्टरको रुपमा भने सौनक भट्ट रहने भएका छन् ।

दामी मिडियाको प्रस्तुति रहने यो शोको कन्सेप्ट तथा डिजाइन सुदिन पोखरेलको हो । यो शोलाई अमन प्रताप अधिकारीले निर्देशन गर्नेछन् । कार्यक्रमको विजेताले ५ लाख नगद पुरस्कार, विश्व भ्रमण र विभिन्न ब्रान्डको सद्भावना दूतको रुपमा काम गर्ने अवसर पाउनेछन् ।