टिजर ‘लण्डन टू पेरिस’को, प्रतिक्रियामा ‘फर्की फर्की र पुजार सार्की मात्र


जेठको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘लण्डन टू पेरिस’को टिजरले बजारमा खासै चर्चा पाउन सकेको छैन । सार्वजनिक टिजर हेरेर दर्शक झनै भड्किएका छन् ।

लण्डनका शहर र भारतमा सेट लगाइएको पेरिसमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक निश्चल खड्का रमाएका छन् । तर, उनीहरुको चुम्बन, बेडसिनमा दर्शकले खासै ध्यान दिएनन् । फिल्मको मेकरलाई अझै पनि यस्ता दृश्य समावेश गर्दा दर्शक हलसम्म आउँछन् भन्ने भ्रम देखिएको छ । 

तर, सार्वजनिक टिजरमा आएका प्रतिक्रियाले मेकरको टाउको दुखाएको छ । यो फिल्मको टिजरमा आएका अधिकांश प्रतिक्रिया जेठको १० गतेबाट रिलिजमा आउन लागेका ‘फर्की फर्की र पुजार सार्की’सँग सम्बन्धित छन् ।

अधिकांश दर्शकले यो फिल्मको टिजरमा रुची देखाएनन् । बरु, जेठको १० गतेबाट रिलिजमा आउन लागेका दुई प्रतीक्षित फिल्म हेर्न जाने उल्लेख गरेका छन् । 

केही दर्शकले फिल्मकी नव–नायिका गरिमा शर्मालाई शुभकामना दिएका छन् । फिल्मकै विषयमा प्रतिक्रिया दिने दर्शकले टिजर हेरेर फिल्मप्रति रुची नभएको उल्लेख गरेका छन् । उनीहरुले कथावस्तु र प्रस्तुतिमा ध्यान दिन मेकरलाई सुझाव दिँदै विदेशमा गएर फिल्म खिच्दैमा उत्कृष्ट नहुने तर्क गरेका छन् । 

फिल्मको टिजरमा ४ सय भन्दा बढी प्रतिक्रिया छन् । जसमा ४ सय प्रतिक्रिया त ‘फर्की फर्की र पुजार सार्की’लाई लिएर छन् । यी दुबै फिल्म हेर्नका लागि आफूहरू आतुर भएको दर्शकको तर्क छ । एउटा फिल्मको टिजरमा अरु फिल्मको विषयमा यति धेरै प्रतिक्रिया खासै आएको पाइँदैन ।

तर, यसपटक भने दर्शकले ‘लण्डन टू पेरिस’को टिजरमा पनि ‘फर्की फर्की र पुजार सार्की’प्रतिको व्यग्रता प्रस्तुत गरेका छन् ।