५० लाख पारिश्रमिक माग्ने वित्तिकै कसैले दिइहाल्ने त होइन होला ? : अनमोल केसी

नेपाली फिल्म क्षेत्रमा नायक अनमोल केसीको पारिश्रमिकको चर्चा सधैं हुने गर्दछ । फिल्म ‘कृ’मा अनमोलले २० लाख पारिश्रमिक बुझेपछि चर्चा सुरु भएको हो । अहिले उनले ५० लाख पारिश्रमिक लिन्छन् भन्ने विषयले चर्चा पाइरहेको छ । 

आखिर अनमोल केसी ५० लाख पारिश्रमिक किन लिन्छन् त ? मेरो फिल्मको प्रश्नमा अनमोलले भने–‘मैले किन लिन्छु भन्दा पनि निर्माताहरूले किन दिनुहुन्छ भन्नेमा जाम न है । कसैले, मलाई यति पारिश्रमिक चाहियो भन्दैमा पाउने त होइन होला । यहाँ दुवैतिरको फाइदा जोडिन्छ नी । सायद, मलाई लिइसकेपछि ओभरसिज मार्केट, डिजिटल मार्केट, नेपालको बजार हेरेर नै दिनुहुन्छ होला । यसैले, मैले किन मागेँ भन्दा पनि किन उहाँहरूले दिइरहनुभएको छ भन्ने कुरा हो ।’

अनमोलले अगाडि भने–‘सुन्दा मात्र मैले ५० लाख लिन्छु भने जस्तो देखिन्छ । तर, बर्षमा मैले कति वटा फिल्म खेलिरहेको छु भन्ने पनि हेर्नुपर्छ । म एउटा फिल्मको प्रचार सक्ने वित्तिकै अर्को फिल्मको प्रचारमा त दौडिएको छैन होला । यसैले, तुलनाात्मक रुपमा मैले अरु कलाकारको भन्दा कम कमाएको छु । उहाँहरूले थोरै थोरै लिएर बर्षमा १०–१२ वटा फिल्म खेलिरहनुभएको छ । यसैले, कसले इमान्दारिताका साथ काम गरिरहेको छ भन्ने हेरेर नै निर्माताहरूले मलाई ५० लाख पारिश्रमिक दिनुभएको होला ।’

अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ जेठको १० गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मको चर्चा अहिले निकै चुलिएको छ । सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय छ ।