‘रावायण’को सेटमा पल र पूजा

सर्लाहीमा विगत केही सातादेखि छायांकन भइरहेको फिल्म ‘रावायण’को सेटबाट तस्विर सार्वजनिक भएको छ । यसअघि निर्माणपक्षले नायक पल शाहको तस्विर मात्र सार्वजनिक गरेको थियो । 

तर, नायिका तथा निर्मात्री पूजा शर्माले पहिलो पटक पलसँगको तस्विर सार्वजनिक गरेकी छिन् । नायक पल शाह फिल्ममा अनुबन्धित भएपछि पनि उनी र नायिका पूजा शर्माको तस्विर सार्वजनिक गरिएको थिएन । 

तर, पूजाले सुदर्शन र पलसँगको तस्विर सार्वजनिक गर्दै तीनको सम्बन्धको बारेमा लेखेकी छिन् । उनले, आफूहरू विगत ७–८ बर्षदेखि एकसाथ रहेको र कहिले झगडा त कहिले मिलेको उल्लेख गरेकी छिन् । 

नायक पल शाह जेलबाट निस्किएपछि पूजासँगको उनको सम्बन्ध बिग्रिएको थियो । पूजा र पल करिब एक बर्ष बोलचाल नै गरेनन् । यसपछि भने फिल्म ‘रावायण’ बन्ने भएपछि पल र पूजा नजिक भएका थिए । 

पूजाले पनि सामाजिक संजालमा तीन जनाको सम्बन्धको व्याख्या गरेकी छिन् । फिल्म ‘रावायण’ सुरुवातमा पूजा र सुदर्शन मिलेर बनाउन लागेका थिए । तर, नायक अनमोल केसी यो फिल्मबाट बाहिरिएपछि सुदर्शन र पूजाको सम्बन्धमा पनि खटपट आयो ।

सुदर्शनले पूजालाई किनारा लगाउँदै अनमोलसँग फिल्म बनाउने तयारी गरे । तर, प्रोजेक्ट अगाडि बढ्न सकेन । अन्ततः पूजाकै निर्माणमा सुदर्शनले फिल्म निर्देशन गरिरहेका छन् । 

भदौको २१ गतेबाट रिलिजमा आउने यो फिल्ममा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन छ । फिल्मको छायांकन अझै केही साता चल्ने बताइएको छ । सर्लाहीपछि निर्माणपक्षले हेटौडामा फिल्मको छायांकन गर्नेछ ।