दयाहाङ र आर्यनको त्यो १ बर्ष, जसले करिअर बिगार्यो

नायक दयाहाङ राईले गतबर्ष एक दर्जन फिल्ममा अभिनय गरे । दयाले अभिनय गरेका फिल्ममध्ये गतबर्ष तीन वटा फिल्मले मात्र राम्रो कमाई गरे । अरु फिल्मले दर्शकको साथ पाएनन् । दयाका फिल्महरूले महिनै पिच्छे सार्वजनिक भए ।

यसैले, गतबर्ष ९ वटा फिल्म रिलिज हुँदा दयासँग दर्शक दिक्क भइसकेका थिए । यो बर्षको सुरुवातबाट पनि दयाका फिल्मका प्रचार सामाग्री सार्वजनिक भइरहेका छन् । उनका दुई वटा फिल्म वैशाखमा रिलिज भइसकेका छन् भने जेठ र असारमा एक–एक वटा फिल्म रिलिज हुँदैछन् । 

अब, दयाका फिल्मको प्रचार सामाग्री सार्वजनिक हुँदा पनि दर्शकलाई वाक्क लाग्न थालेको छ । यसैले, राम्रा विषयवस्तु भएका फिल्मका प्रचार सामाग्रीमा पनि दर्शकले उत्साह भन्दा निराशा बढी प्रस्तुत गरिरहेका छन् । बिहान उठ्दा पनि दयाको फिल्म, बेलुका पनि दयाकै फिल्म भन्ने खालका प्रतिक्रिया दर्शकले दिन थालेका छन् । 

गतबर्ष आँखा चिम्लिएर फिल्ममा काम गर्दा दयाको करिअरलाई गाह्रो परेको हो । किनकी, चिनी पनि धेरै खाँदा तीतो हुन्छ भन्ने उखान दयाको करिअरमा लागू भएको छ । 

यस्तै, स्टारडम र क्रेज केही बर्ष अगाडि नायक आर्यन सिग्देलको पनि थियो । आर्यनको फिल्म आउँदा दर्शकमा छुट्टै प्रकारको उत्साह हुन्थ्यो । तर, आर्यनले पनि करिअर उच्च अवस्थामा पुगेको समयमा एक बर्ष अफर आएका सबै फिल्ममा काम गरे । उनले, पैसाका लागि आँखा चिम्लिए र काम गरे । सोही एक बर्ष गरेको गल्तीले आर्यनलाई आज समस्यामा पारेको छ । 

आज आर्यनको नाममा फिल्म चल्न छाडेको छ । आर्यनले पनि समयमै स्टारडम र समय बुझेको भए आज यस्तो अवस्था आउने थिएन । दयाले पनि विगत एक दुई बर्षमा फिल्म रोजेर गर्न नसक्दा उनलाई समस्या पर्न थालेको छ ।