‘फर्की फर्की’बाट उदाउन सक्छिन् समृद्धि

जेठको १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’ अहिले चर्चामा छ । यो फिल्मले मित्रताको कथा भन्छ । साथमा फिल्ममा समावेश टाइम लुपको विषयले सर्वाधिक चर्चा पाइरहेको छ ।

ट्रेलर र गीतले समेत दर्शकको उच्च साथ पाएपछि फिल्मप्रति दर्शकको चासो बढेको हो । यो फिल्मको प्रचारमा मुख्य कलाकारहरू नायक अनमोल केसी र नायिका जसिता गुरुङ हिँडिरहेका छन् । 

फिल्ममा नव–कलाकारद्धय रवि काफ्ले र समृद्धी अर्याल पनि छन् । यी दुईको भूमिका पनि फिल्ममा विशेष छ । फिल्ममा रवि अनमोल र समृद्धी जसिताको साथीको भूमिकामा छन् । 

यो फिल्मको ट्रेलर सार्वजनिक भएपछि कलाकार समृद्धिको चर्चा पनि चलिरहेको छ । तर, मेरो फिल्मलाई विशेष स्रोतले दिएको जानकारी अनुसार फिल्म हेरेपछि दर्शक, फिल्मीकर्मी र मिडियाकर्मीले समृद्धिको खुलेरै तारिफ गर्नेछन् । समृद्धी पनि दर्शकको प्रतिक्रियाका लागि उत्साहित देखिएकी छिन् । 

फिल्ममा समृद्धीले गज्जबको काम गरेको वुझिएको छ । फिल्मको ट्रेलरमा अनमोल र जसिता नै हाबी छन् । तर, फिल्म हेरेपछि भने समृद्धीले दर्शकको मन जित्ने विश्वास निर्माणपक्षको पनि छ । समृद्धी पनि यो फिल्मबाट फिल्मी दुनियाँमा उदाउनेमा विश्वस्त छिन् । 

सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ ।