दर्शकको ध्यान तान्दै बाल–कलाकारहरु

हलमा सुपरहिट व्यापार गर्दै चलिरहेको फिल्म ‘बोक्सीको घर’बाट बाल–कलाकार सुपला सापकोटाले सर्वाधिक चर्चा पाइन् । यो फिल्ममा उनले गरेको अभिनयलाई दर्शकले निकै रुचाएका छन् । कलाकार भोलाराज सापकोटाकी छोरी सुपलाको नाम यो फिल्म रिलिज अगाडि खासै सुनिएको थिएन । तर, यो फिल्म चलेपछि उनको माग फिल्म क्षेत्रमा बढ्ने निश्चित छ । 

हलमा चलिरहेको फिल्म ‘मनसरा’मा बाल–कलाकार नेनाहाङ राईले पनि तारिफ पाइरहेका छन् । फिल्मका कैयौं दृश्यमा उनले दर्शकलाई भावुक बनाउँछन् त कैयौं दृश्यमा उनले दर्शकलाई हसाँएका छन् । फिल्ममा उनको पनि महत्वपूर्ण भूमिका रहेको बिर्सन हुँदैन । हलबाट निस्कने दर्शकले कलाकार प्रवीण खतिवडा र बाल–कलाकार नेनाहाङलाई सम्झिन्छन् । 

सोमबार नै रिलिज भएको फिल्म ‘गाउँ आएको बाटो’को टिजरमा बाल–कलाकार प्रशन राइको अभिनयले पनि तारिफ पाइरहेको छ । यो फिल्म रिलिज भएपछि प्रसनको अभिनयले दर्शकलाई भुतुक्कै बनाउने देखिन्छ । प्रसनले यो फिल्ममा नायक दयाहाङ राइको छोराको भूमिकामा अभिनय गरेका छन् । 

नेपाली फिल्ममा काम गरिरहेका बाल–कलाकारहरुले दर्शकको ध्यान तानिरहेका छन् । कुनै समय अनुभव रेग्मीले दर्शकको ध्यान खुबै खिचेका थिए । तर, अब उनी ठूला भइसकेका छन् । यस्तै, फिल्म ‘जात्रा’को सिरिजबाट बाल–कलाकार अर्बिन खड्काले पनि निकै ध्यान तानेका छन् । उनी पनि अब ठूलो हुँदैछन् । यसैले, फिल्म क्षेत्रमा नयाँ बालकलाकारहरुको आगमन हुन थालेको छ । 

बाल–कलाकार हुँदै फिल्ममा नायक सलोन बस्नेत जमिरहेका छन् । बाल–कलाकारको रुपमा फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका नीता ढुंगाना अहिलेकी लोकप्रिय नायिका हुन् । बाल–कलाकार राज आचार्य अहिले फिल्ममा नायकको रुपमा काम गरिरहेका छन् । 

फिल्ममा बाल–कलाकारहरुको भूमिका र अभिनय उत्कृष्ट भयो भने सबैभन्दा पहिले दर्शकलाई कनेक्ट उनीहरुले नै गर्न सक्छन् । पछिल्लो समय रिलिज भएका फिल्महरूबाट बाल–कलाकारहरुको चर्चा हुनुको कारण पनि यही हो ।