मलिकाको ‘सतीदेवी’ साउन ४ बाट रिलिज हुने

अन्ततः निर्देशक, निर्माता तथा लेखक लक्ष्मण सुवेदीले आफू निर्देशित फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति तय गरेका छन् । यो फिल्म साउनको ४ गतेबाट रिलिजमा आउने पक्का भएको हो । 

यसअघि विभिन्न महोत्सवमा विशेष शो भएपनि फिल्मको प्रदर्शन मिति भने तय भएको थिएन । यो फिल्मलाई काठमाडौं बाहिर एफडी र काठमाडौंमा रिच इन्टरटेन्मेन्टले वितरण गर्ने पक्का भएको छ । 

यो फिल्ममा मलिका महत्त केन्द्रीय भूमिकामा छिन् । उनको साथमा फिल्ममा हर्षिका वली, मञ्जिला बानियाँ, सन्दिप बाबु लोहनी, रमेश वुढाथोकी, कुलदीप अधिकारी, भोला सापकोटा, सृजना अधिकारी, सुजीता सिटौला लगायतका कलाकारको अभिनय छ । 

बाबु श्रेष्ठको छायांकन रहेको यो फिल्ममा तारा थापाको सम्पादन, दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ । 

फिल्ममा दिलासा, सारा र श्रीदेवी सुवेदीको लगानी छ । फिल्म ‘सतीदेवी’ले गाउँमा जन्मिएकी एक युवतीको कथा भन्छ । 

फिल्मले नेपालमा आयोजना भएका विभिन्न फिल्मी महोत्सवमा उत्कृष्ट फिल्मको अवार्ड समेत पाइसकेको छ । दर्शकले हलमा पनि यो फिल्मलाई रुचाउने विश्वास गरिएको छ ।