ब्रान्डमा बर्षाः दर्जन बढी विज्ञापनमा आवद्ध, पहिलो पारिश्रमिक ५ हजार

नेपालको विज्ञापन बजार फस्टाउँदै गएपछि दर्शकले चिनेका सेलिब्रिटीहरुलाई जीवनयापनका लागि निकै सहज बनिरहेको छ । यसको प्रत्यक्ष फाइदा नेपाली फिल्मका कलाकारहरूले पनि लिइरहेका छन् । 

ब्रान्ड बजारमा नायिका वर्षा राउत पनि अगाडि छिन् । फिल्मबाटै राम्रो चर्चा पाइरहेकी यी नायिका ब्रान्ड बजारमा पनि रोजाइमा पर्छिन् । 

वर्षाले पहिलो विज्ञापनको रुपमा ‘सामसुङ टीभी’का लागि फोटो खिचाएकी थिइन् । पत्रिकाका लागि खिचाइएको विज्ञापनमा काम गरेबापत उनले ५ हजार पारिश्रमिक पाएकी थिइन् । 
तर, अहिले विज्ञापनको बजार बढेसँगै कलाकारहरुले पाउने पारिश्रमिक पनि ह्वात्तै बढेको छ । वर्षाका अनुसार, उनले हालसम्म दर्जन बढी ब्रान्डको विज्ञापनमा काम गरिसकेकी छिन् । 

वर्षाले नाम चलेका कम्पनीहरुका विज्ञापनमा आफूलाई बढी आवद्ध बनाएको देख्न सकिन्छ । उनले ‘एनसेल, बर्जर पेन्ट्स, इ सेवा, साओमी मोबाइल, डाबरको रियल जुस, फ्यामिली हेल्थ तेल, यशोधा ब्रान्ड, फु्रट जेम’ लगायतका प्रोडक्टको विज्ञापनमा काम गरेकी छिन् । 

वर्षासँगै उनका श्रीमान् संजोग कोइराला पनि विज्ञापनमा सक्रिय छन् । उनले अभिनय गरिरहेको ‘लाइफ बोय’ साबुनको विज्ञापनमा काम गरिरहेका छन् । 

वर्षाले हालसम्म सबैभन्दा बढी ‘रियलको लिच्ची जुस’को विज्ञापनमा संझौता गरेकी थिइन् । यो ब्रान्डको प्रमोशनमा आफूले ३ बर्षको संझौता गरेको वर्षा बताउँछिन् । 

वर्षा भन्छिन्–‘हामीले प्रायः एक दुई बर्षका लागि ब्रान्डको प्रमोशन गर्छौ । यसरीक काम गर्दा, पारिश्रमिक पनि राम्रो आउँछ ।’

वर्षाको सामाजिक सञ्जालमा पनि राम्रो फलोअर्स छन् । जसका कारण, उनले सामाजिक सञ्जालबाट पनि ब्रान्डको प्रमोशन गरिरहेको देख्न सकिन्छ । 

वर्षा भन्छिन्–‘ब्रान्ड प्रमोशनमा म यस्तो उस्तो भनेर खासै हेर्दिनँ । तर, मानिसको जीवनमा प्रत्यक्ष असर गर्ने सामग्रीको भने प्रमोशन गर्दिनँ ।’

वर्षाका अनुसार, उनलाई अफर केही विज्ञापनका लागि कम्पनीबाट नै सोझै आइरहेको हुन्छ । तर, धेरैजसो एजेन्सीको माध्यमबाट आउने गरेको छ । विज्ञापन बजारबाट राम्रो कमाई भइरहेको बताउने वर्षा कुनै पनि ब्रान्डमा आबद्ध भैसकेपछि त्यसको सकेसम्म धेरै प्रचार होस् भन्ने चाहना आफूले राख्ने तर्क गर्छिन् ।