प्रकाश सपुतलाई समीक्षाभन्दा विज्ञापनदाता नै प्यारो

गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’ चर्चासँगै विवादमा आयो । यो गीत युट्युबको ट्रेन्डिङमै पर्यो । गीतले चर्चा र विवाद भएको लामो समयपछि प्रकाश आइतबार मिडियामाझ झुल्किए । 
आफ्नो गीतको सफलतापछि त्यसको समीक्षा गर्न झुल्किएका प्रकाशले समीक्षा भन्दा पनि विज्ञापनदाताको तारिफमै बढी समय लगाए । ‘सफलता र समीक्षा’ शीर्षकमा कार्यक्रम गरिए पनि प्रकाशले गीतका प्रायोजकलाई धन्यवाद दिनमा बढी समय खर्चिए । 

यो गीतका बारेमा उनले समीक्षा गर्नु जरुरी थियो । जसरी विवादमा गीत तानियो, त्यो विषयमा बुझ्नलाई मिडिया तथा दर्शक उनको कार्यक्रममा उपस्थित थिए । तर प्रकाशले भने गीतका बारेमा केही नबोलिकन विज्ञापनदातामा समय खर्चिए । त्यसो त यो गीत विवादमा आएपछि नहेर्ने दर्शक सायदै नहोलान् । तर उनले १५ मिनेट १६ सेकेण्डको गीतमाथि समीक्षा गर्नुपर्ने भए पनि उनले त्यता समय खर्चिएनन् ।

त्यहाँ उपस्थित मिडियाकर्मीहरु प्रकाशको गीतको सुरुवाती कुरा सुन्न चाहन्थे । सुटिङका अनुभव सुन्न चाहन्थे । कलाकारका किस्सा सुन्न चाहन्थे । तर प्रकाशले त्यो कुरामा ध्यान दिएनन् । बरु उनलाई आफ्ना अन्य प्रोजेक्टका लागि विज्ञापन नै उम्किएला कि भन्ने भयले विज्ञापनदातालाई प्राथमिकता दिन थाले । 

प्रकाशलाई प्रश्न–गीत विवाद बनाउन जति मिडिया आवश्यक भयो, त्यति नै समीक्षा गर्न मिडिया आवश्यक पर्ने होला नि ? यतातिर प्रकाशको ध्यान कहिले जाने ? लोकप्रियता पाउन कै लागि विवादित दृश्य समेटिरहने कि आफूलाई पनि सुधार्ने प्रकाशजी ?