प्रिमियरमा ‘फूलबारी’लाई उत्कृष्ट प्रतिक्रिया


आज शुक्रबारदेखि रिलिज भएको नेपाली फिल्म ‘फूलबारी’को बिहिबार बेलुकी प्रिमियर गरियो । राम बाबु गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ । फिल्म हेर्ने अधिकांशले परिवारसहित हलमा जानुपर्ने उल्लेख गरेका छन् । 

‘कबड्डी’ जस्तो सामाजिक कथामा फिल्म बनाउँदै आएका निर्देशक गुरुङले यसपटक बाबु–आमा र सन्तानको कथालाई फिल्मको पर्दामा उतारेका छन् । 

विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, दयाहाङ राई, शिल्पा मास्के लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले हँसाउने, रुवाउने र समाजको तीतो यथार्थ भन्ने प्रतिक्रिया अधिकांशको छ । 

फिल्म हेरेर निस्किएपछि फिल्मका मुख्य कलाकारहरू प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के मिडियाको अगाडि नै रोएका थिए । नेपाली फिल्मले केही महिनादेखि गतिलो व्यापार नगरिरहेको समयमा ‘फूलबारी’ले बक्स अफिसलाई चलायमान बनाउने अपेक्षा गरिएको छ ।

फिल्मको बिहानी शोको व्यापार कमजोर छ । तर, फिल्मको वर्ड अफ माउथले मध्यान्हबाट दर्शक बढ्ने अपेक्षा गरिएको छ ।