‘मनसरा’को ‘एक तार मनको’ गीत रिलिज

शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘मनसरा’को ‘एक तार मनको’ बोलको गीत रिलिज गरिएको छ । सार्वजनिक गीतमा हर्क साउदको शब्द, सुशान्त गौतमको स्वर तथा संगीत छ । 

यो गीतको भिडियोमा फिल्मका मुख्य कलाकार प्रवीण खतिवडा र बाल–कलाकार नेनाहाङ राइको अभिनय छ । यो गीतमा सन्तानको सुख भोग्नबाट बन्चित रहेका प्रवीणलाई नेनाहाङसँगको निकटतामा प्रस्तुत गरिएको छ ।

फिल्ममा नेनहाङ नायिका मिरुना मगरको छोराको भूमिकामा देखिएका छन् । उनको अभिनयले पनि दर्शकको मन जितिरहेको छ । 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, उपेन्द्र सुब्बा, नेनहाङ राई लगायतका कलाकारको अभिनय छ ।

यो फिल्मले शनिबार बक्स अफिसमा राम्रो कमाई गरेको थियो । अन्य दिनमा भने फिल्मको व्यापार औषत छ । फिल्मलाई शैलेन्द्र ध्वज कार्कीले छायांकन तथा निर्माण गरेका हुन् ।