पूर्व राजा बनेपछि ‘कमेडी च्याम्पियन’मा प्रेमको चर्चा, नयाँ नियमले रोचक बन्दै शो

यही साता उत्कृष्ट १६ बाट बाहिरिएका प्रतिस्पर्धी प्रेम विश्वकर्मा पूर्व राजा ज्ञानेन्द्र शाह बनेर फर्किएपछि दर्शकको ध्यान तानेका छन् । युट्युब तथा सामाजिक संजालमा प्रेमको यो प्रस्तुति चुलिएको छ । धादिङका प्रेम डिजिटल अडिसन मार्फत उत्कृष्ट ३० मा छानिएका थिए ।

मोटु पत्लु क्यारिकेचर गरेर अडिसन दिएका प्रेम सुपर १६ मार्फत बाहिरिएका थिए । पूर्व राजा ज्ञानेन्द्रकै भेष भने यसपटक चर्चामा छ । प्रस्तुतिमा दम भएकै कारण उनी अर्को राउन्डमा पनि प्रवेश गरेका छन् ।

यही प्रक्रियाबाट यसअघि महावीर पुनको पात्र गर्दै कर्म सिंह लामा पनि उत्कृष्ट ८ मा प्रवेश गरेका थिए । कर्म उत्कृष्ट प्रस्तुति दिँदै उत्कृष्ट ९ मा प्रवेश गर्दै गर्दा अच्युत काफ्ले र निश्चल अर्याल बाहिरिएका थिए । यो साता च्यालेन्जर प्रेम उत्कृष्ट ६ मा प्रवेश गरेसँगै उत्कृष्ट ७ बाट भोटिङ रिजल्ट आउँदा दुई जना कमेडियन बाहिरिनेछन् । 

‘कमेडी च्याम्पियन’मा हरेक साता अघिल्ला उत्कृष्ट १६ बाट बाहिरिएका दुई प्रतियोगीतले च्यालेन्जरको रुपमा प्रतिस्पर्धा गरिरहेका छन् । जुन सिलसिला आगामी हप्तासम्म चल्ने बताइएको छ । अहिले यो शोमा उत्कृष्ट ७ ले आफ्नो प्रस्तुति दिँदै फाइनलको दौडमा छन् ।

वाइल्ड कार्डबाट समेत प्रतिस्पर्धी फर्कन सक्ने नियम राखिएको छ । सयौं बाट छानिएका केही उत्कृष्ट प्रतिस्पर्धीहरुले अहिले दर्शकको मन जितिरहेका छन् ।