नाटकमा काम गर्न गाह्रो रहेछः मलिका महत्त

थिएटर आकारको प्रस्तुतिमा मण्डला थिएटरमा पुषको १२ गतेबाट ‘पगला घोडा’ नामक नाटक मञ्चन हुँदैछ ।

भारतीय सु–प्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको यस नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो । नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गर्दै छन् । 

नाटकलाई शिव खाँड ठकुरीले नेपालीमा अनुवाद गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रुपमा कलाकार तथा निर्देशक आशान्त शर्माले साथ दिएका छन्।

यस नाटक मार्फत नायिका मलिका महतले रङ्गमञ्चमा समेत डेब्यू गर्दैछिन् । नाटकको मुख्य भूमिकामा रहेकी मलिकाले चार वटा फरक फरक पात्रको भूमिका निर्वाह गर्न लागेकी छिन् । 

यो नाटकको टिमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कलाकार मलिका महतले भनिन्–‘सुरुमा नाटक गर्न निकै कठिन भयो । अहिले आएर बल्ल म शान्त भएकी छु । नत्र म एकदमै चिन्तित हुन्थेँ । किनकी पहिलो नाटक त्यसमाथि चार वटा क्यारेक्टरलाई फरक तरिकाले प्रस्तुत गर्नुपर्दा निकै गाह्रो भयो ।’

फिल्म भन्दा नाटकको प्रकियाहरु निकै फरक रहेको उनी सुनाउँछिन् । ‘सुरुमा अभिनय मात्र त गर्ने हो जस्तो लागेको थियो । तर, वर्कशपमा आएपछि नाटकको प्रक्रिया निकै फरक हुँदोरहेछ भन्ने थाहा भयो । सुरुवातमा गाह्रो भएपनि अहिले भने रमाइलो लागिरहेको छ–’उनले भनिन् ।

फिल्मपछि नाटकको यात्रा मोडलको छवि मेट्नलाई हो भन्ने पत्रकारको प्रश्नमा मलिकाले भनिन्–‘‘यो अबुझाई मात्र हो । त्यो मेटाउनलाई मैले नाटक गरेको हुँदै होइन । मलाई पहिलेदेखि अभिनयमा निकै रुची थियो । मलाई नयाँ–नयाँ कुरा अनुभव गर्न मन लाग्छ । जसकारण नाटकमा जोडिए ।’

यस नाटकमा मलिकासहित प्रमोद अग्रहरी, आशान्त शर्मा, विजय ताम्राकार, विम्ब अधिकारी लगायतको अभिनय छ । पौषको १२ गतेदेखि माघको ६ गतेसम्म नाटकको मञ्चन हुनेछ ।