ब्रान्ड बजारमा बेनिशाः डिजिटल माध्यमले बढायो कमाई

विज्ञापन बोर्डले केही दिन अगाडि मात्र एक निर्देशन जारी गर्दै सम्पूर्ण प्रकारका विज्ञापनमा विदेशी कलाकार वा व्यक्तिको तस्बिर हटाएर नेपाली कलाकार वा व्यक्तिको तस्बिर राख्न भनिसकेको छ । यसले, विज्ञापनबाट नेपाली कलाकारहरूले राम्रो आम्दानी गर्ने सम्भावना अझै बढेको छ । 

नेपालमा विज्ञापन बजार पनि फराकिलो बन्दै जाँदा यसमा काम गर्ने कलाकारहरूको आम्दानी पनि बढिरहेको छ । जसका कारण, कलाकारहरूलाई आम्दानीका लागि फिल्म वा म्युजिक भिडियोमा मात्र भर पर्नु पर्ने अवस्था छैन । 

बेनिशा हमालको बुझाइमा पनि विज्ञापनको बजार अहिले फराकिलो बन्दै जाँदा कलाकारको आम्दानी पनि बढिरहेको छ । करिअरको सुरुवातमा बेनिशाले अडिसन दिएर विज्ञापनमा काम गरेकी थिइन् । सो समयमा उनले एउटा विज्ञापनमा काम गरेको ७ हजार पारिश्रमिक लिएकी थिइन् ।

बेनिशा भन्छिन्–‘पहिलेको तुलनामा अहिले विज्ञापनबाट कमाई राम्रो छ । अहिले सबै जानकारी डिजिटल माध्यमबाट थाहा हुने भएकाले सानादेखि ठुला सबै कम्पनीले आफ्नो मार्केटिङ राम्रोसँग गर्न चाहन्छन् । जसले गर्दा, काम बढ्दा पारिश्रमिक बढ्नु स्वाभाविक नै हो । 

बेनिशाले आफूले मदिरा र सुर्ती जन्य पदार्थको विज्ञापन भने कहिले पनि नगर्ने बताइन् । भनिन्–‘मैले धेरै पहिले एउटा मदिराको डिजिटल माध्यमबाट प्रचार गरेकी थिएँ । तर, पछि सो काम नगरेको भएँ हुन्थ्यो कि जस्तो लाग्यो । मुख्य कुरा, आफू जोडिएपछि त्यो सामग्रीलाई गर्वका साथ प्रचार गर्न सक्नुपर्छ । अरू, त म पारिश्रमिक, समय हेरेर ब्रान्डसँग काम गर्छु ।’

बेनिशाले सुरुवातका दिनमा कुनै पनि ब्रान्डसँग जोडिँदा त्यसको फाइदा वा बेफाइदा केही पनि हेरिनन् । ब्रान्डमा जोडिन पाउँदा आफू पनि आम दर्शकको नजरमा पर्ने उनको बुझाई थियो । तर, अहिले उनको सोच बदलिएको छ । बेनिशा अहिले कुनै पनि ब्रान्डसँग जोडिँदा त्यसको सफलताको हिस्सा बन्न पाइयोस् भन्ने सोच्छिन् ।

बेनिशाले ‘यम यम नूडल्स (चाउचाउ), रियो ड्रिङक्स (जुस), टीवीएस विगो स्कुटर, नोभा आइस् क्रिम, शिक्षा सदन शैक्षिक परामर्श (शिक्षा सदन कन्सल्टेन्सी) लगायत अन्य १५ देखि २० वटा ब्रान्ड कम्पनीहरू सँग काम गरिसकेकी छिन् । यस्तै, कहिले काहीँ उनले विभिन्न ब्रान्डलाई डिजिटल माध्यमबाट प्रचार गरिरहेको पनि देख्न सकिन्छ ।