असन्तुष्ट धिरजको देखावटी खुशी !

नायक धिरज मगर फिल्म 'ज्याकी आइम ट्वान्टी वान'पछि 'एक भगवत् गीता' मार्फत पुनः पर्दामा देखिदैछन् । आगामी भदौ २९ गतेबाट रिलिज हुन लागेको फिल्मको यतिबेला तीव्र प्रचारप्रसार भइरहेको छ । 

फिल्मको टिम प्रचारप्रसारमा व्यस्त हुँदा धिरजले भने फिल्मको प्रचारप्रसारमा खासै रुची देखाएका छैनन् । यसअघि फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित नभएका धिरजको यस्तै छनक मंगलबार फिल्मले आयोजना गरेको प्रेस भेटघाटमा देखियो । 

फिल्मका दुई प्रमुख कलाकार सुहाना थापा र विपिन कार्कीसँगै निर्देशक झरना थापा र निर्माता सुनीलकुमार थापा मिडियासँग कुराकानी गरिरहँदा धिरजको अनुहार त के छाँयासमेत कसैले देख्न सकेनन् । जसो मिडियासँगको अन्तरक्रिया सकियो, धिरज देखा परे । उनको देखा पर्ने शैली अझ रोचक थियो । कालो चस्मा, कालो मास्क अनि कालै लुगा लगाएर उपस्थित भएका उनले पत्रकारलाई अभिवादन गरेसँगै फोटोसेसनमा लागे । फोटोसुटमा भने उनी खुशी थिए ।

लेखन विधाका पत्रकारसँग अन्तरक्रियामा नदेखिएका धिरज युट्युब मिडियासँग भने नजिकिए । किनभने लेखन विधाका पत्रकारसँगको अन्तरक्रियामा नदेखिनु र युट्युब मिडियाको पालो आउँदा उपस्थित हुनुले पनि त्यही संकेत गरेको थियो । 

कार्यक्रममा धिरजको उपस्थिति बाध्यतात्मक थियो भन्ने छनक प्रष्टै देखिन्थ्यो । किनकी यसअघि धिरजले अभिनय गरेका फिल्ममा उनी समयमै कार्यक्रममा उपस्थित भएर पत्रकारसँग हाँसीखुशी जवाफ दिन्थे । तर मंगलबार त्यो देखिएन । भलै धिरज ढिलो आए पनि उनीप्रति लेखन विधाका पत्रकारको चासो पनि खासै गएन ।

आफ्नो फिल्मको प्रचारप्रसारमा धिरज दिलो ज्यान दिएर जुट्ने गरेको यसअघिका उनका फिल्मको प्रचारप्रसारलाई हेरे पुग्छ । तर ‘एक भगवत् गीता’मा भने उनको प्रचारप्रसार उपस्थिति नगन्य नै छ ।  धिरजले फिल्ममा आफ्नो चरित्र छोटो बनाइएको भन्दै असन्तुष्टि जनाएको चर्चा बाहिर नआएको पनि होइन । उनको असन्तुष्टिलाई फिल्मको सार्वजनिक ट्रेलर र टिजर हेर्दा पनि प्रष्ट बुझ्न सकिन्छ । किनकी दुवैमा हावी अर्का अभिनेता विपिन कार्की नै छन् ।

धिरजको असन्तुष्टिका विषयमा प्रश्न गर्दा फिल्मकी नायिका सुहाना थापा र नायक विपिनले धिरजको बचाउ गरे । नायिका सुहानाले फिल्मको कथाको अवस्था अनुसार चरित्र चित्रण गरिएकाले पात्रमा असन्तुलन नभएको जिकिर गरिन् । विपिनले पनि सुहानाको भनाईमा समर्थन गर्दै फिल्मका प्रमुख पात्रहरुको चरित्र समान किसिमको रहेकाले कसैको चरित्र छोटो र कसैको लामो भन्ने आरोप गलत भएको दाबी गरेका थिए ।

निर्देशक झरना थापा पनि धिरजलाई रोल खुम्चाइएको भन्ने आरोपलाई अस्वीकार गर्छिन् । ‘धिरजलाई हामीले झुक्याएका होइनौं । उसको भूमिका अनुसार चरित्र दिएका हौं । सबैलाई समान स्थान दिएका छौं’, उनी दाबी गर्छिन् । 

भूमिका काटिएकोमा धिरजको असन्तुष्टि भन्ने बुझिए पनि वास्तविकता केवल धिरज र निर्माण पक्षलाई मात्र थाहा छ । त्यो भन्दा ठूलो वास्तविकता त फिल्म रिलिजपछि मात्र थाहा हुनेछ ।

तस्विर: सुरेन्द्र थापा