सारुकको परिवारसँग प्रहरीले भन्यो–‘अनुसन्धान रोकिदैन’


नायक सारुक ताम्रकारको परिवारले प्रहरीलाई गम्भीर भएर अनुसन्धान गरिदिन आग्रह गरेको छ । आज दिउँसो चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला र महासचिव सविन श्रेष्ठको साथमा महानगरीय प्रहरी परिसर, टेकुमा पुगेकी सारुककी आमा रुक्मणि ताम्राकारले प्रहरी समक्ष यस्तो आग्रह गरेकी हुन् । 

परिवारसँगको छलफलमा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दान बहादुर कार्कीले प्रारम्भिक उजुरीकै आधारमा छानबिन हुने र अनुसन्धान नरोकिने जवाफ दिएका थिए । साथै, उनले परिवारसँग कुरा नगरि यो केस क्लोज नहुने समेत बताएका छन् । 

परिवारले किटानी जाहेरी दिन चाहे पनि प्रहरीले अहिले नै किटानी जाहेरी दिन नपर्ने र अनुसन्धानका क्रममा कोही माथि शंका लागेको खण्डमा प्रहरीले किटानी जाहेरी दिन आग्रह गर्ने बताएको थियो । यस्तै, प्रहरीले मिडियामा आएको कुरालाई पनि आफूहरूले नियालिरहेको बताएको थियो । 

प्रहरीसँगको कुराकानीका क्रममा सारुककी दिदीले भनिन्–‘सारुकले आत्महत्या गरेको दिन नायिका नम्रता श्रेष्ठ घर आएर सारुककै कोठाको खाटमा बसेर गुरुलाई फोन गर्न बारम्बार भनेकी थिइन् । यस्तै, उनीहरू बसेको घरबाट पनि सुटकेसहरु निकालिएको थियो । यो विषयमा पनि प्रहरीले छानबिन र सोधपुछ गरिदियोस् भन्ने हाम्रो चाहना हो ।’

प्रहरीले फिल्म ‘ह्यासट्याग माया’का निर्देशक र निर्मात्रीसँग सोधपुछ गरे पनि नायिका नम्रता श्रेष्ठ र नायक रोयदिप श्रेष्ठसँग सोधपुछ किन नगरेको भन्दै सारुककी आमाले प्रश्न गरेकी थिइन् । सो क्रममा प्रहरीले अनुसन्धानका क्रममा आवश्यक पर्ने सबैसँग सोधपुछ गर्ने बताएको थियो ।