‘अगस्त्य’का लागि जीम धाउँदै सौगात, बढाए तौल


साउनको १९ गतेबाट राजविराज र काठमाडौंमा छायांकन हुन लागेको फिल्म ‘अगस्त्य’का लागि नायक सौगात मल्लले खुबै मिहिनेत गरिरहेका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भैरहेको यो फिल्मको छायांकन सौगातकै लुक्स परिवर्तन गर्नुपर्ने भएकाले एक महिनाका लागि रोकिएको थियो । भारतको गोरखपुरमा भने यो फिल्मको छायांकन सकिएको छ । 

भारतको गोरखपुरमा गरिएको छायांकनमा सौगात मल्लको मानसिक सन्तुलन विग्रिएको पात्रको भूमिका देख्न सकिन्छ । सौगातले यो क्यारेक्टरका लागि आफूलाई फिल्मको छायांकन सुरु हुनु अगाडि नै तयार गरेका थिए । 

अब, यही फिल्मका लागि उनले आफ्नो तौल बढाउनुपर्नेछ । निर्देशक चौधरीका अनुसार, सौगातको अब सामान्य मानिसको दृश्य खिचिनेछ । यसका लागि सौगात जीम धाउन थालेका छन् । साथै, उनले आफ्नो तौल पनि ५–७ केजी बढाएको निर्देशक चौधरीले बताए । 

यो फिल्मको गोरखपुरको छायांकन सकिएपछि सौगातले फिल्म ‘हात्तीछाप’मा काम गरेका थिए । ‘हात्तीछाप’मा आफ्नो भूमिकाको दृश्य खिचिसकेपछि सौगात फेरि ‘अगस्त्य’मा नै फर्किएका हुन् । यो फिल्मका लागि सौगातले गरेको मिहिनेत आफैमा तारिफयोग्य छ । फिल्मको फस्टलुक आएपछि सौगातको मिहिनेत पक्कै पनि देखिनेछ । 

फिल्ममा नाजिर हुसेन, मलिका महत्त, विजय बराल, रविन्द्र झा, प्रमोद अग्रहरि लगायतका कलाकारको पनि अभिनय छ । यो फिल्मलाई एक्सन र लभ स्टोरी कथामा तयार पारिने निर्देशकको भनाई छ । फिल्ममा प्रकाश मल्ल र अनिष तामाङको लगानी छ ।