फिल्म फ्लप, अवार्ड हिट

वैशाखमा रिलिज भएको फिल्म ‘जारी’लाई एक ठाउँमा राख्ने हो भने त्यो फिल्मपछि रिलिज भएका दर्जन बढी फिल्म बक्सअफिसमा फ्लप छन् । फिल्मको निर्माणदेखि प्रचारप्रसारसम्म तामझाम गर्दै लाखौं रुपैंयाँ खर्च गरे पनि बक्सअफिसमा ती फिल्मको तथ्यांक नाजुक नै छ । फिल्मले पोस्टरको पैसासमेत उठाउन सकेको छैन । फिल्म क्षेत्रका लागि यो दुःखकै कुरा हो ।

फिल्मले बक्सअफिसमा पैसा उठाउन धौ धौ परिरहेका बेला कलाकार र प्राविधिक चाहिँ अवार्ड उचाल्न व्यस्त छन् । वैशाख यता राजधानीमा थुप्रै अवार्ड भए । चाहे ती फिल्मका अवार्ड हुन् या संगीतका नै । बक्सअफिसमा असफलदेखि सफल भएकासम्म फिल्मले अवार्ड पाए । जुन अवार्डको चर्चा र विरोध सामाजिक सञ्जालमा छताछुल्ल नै भयो । रिलिज नै नभएका फिल्मले पनि अवार्ड पाउन थालेपछि अवार्डको गरिमा कतिसम्म ‘गिरेको’ रहेछ भन्नेसम्म कुरा चल्यो । नचलोस् पनि किन, अवार्ड आयोजकले नै त्यस्तै गतिविधिमा आफूलाई सक्रिय बनाइरहेका छन् ।

फिल्मसँग सम्बन्धित धेरै संघसंस्थाहरु छन् । भित्री रुपमा ती संस्थाका अध्यक्षहरुले अवार्डको विरोध गरिरहे पनि अवार्ड बाँड्न भने उनीहरु नै अगाडि सर्ने गरेका छन् । उनीहरुको कार्यशैली चाहिँ नेपाली उखान ‘मुखमा राम राम बगलीमा छुरा’ जस्तै देखिन्छ । किनकी आयोजकको पछाडि अवार्डको विरोध गर्छन्, आयोजकलाई भेट्दा ‘बधाई’ नै दिन्छन् ।

नेपाली अवार्ड यति सस्तो भइदिएको छ कि एउटा अवार्डमा सम्बन्धित फिल्मको कलाकार वा प्राविधिकले अवार्ड पाएनन् भने अर्को अवार्डमा उसको नाम अवार्ड पाउने सूचीमा निश्चित प्रायः छ । झन् आयोजकले मनोनयनमा परेका कलाकार तथा प्राविधिकलाई ‘तपाईंले अवार्ड पाउँदै हुनुुहुन्छ है’ भन्ने शैलीको पत्र नै पठाउने गरेका छन् । त्यहीकारण पनि अवार्डमा कलाकार र प्राविधिकको उपस्थिति न्यून नै छ ।

मनोनयनमा परेका उत्कृष्ट पाँच प्रतिष्पर्धीमध्ये एकजनाले अवार्ड उचाल्ने सर्वमान्य नियम नै हो । त्यही अनुसार एकजनाले अवार्ड पाउने करिब निश्चित भइसकेपछि बाँकी चार प्रतिष्पर्धीको अनुहारसमेत अवार्डमा देख्न पाइँदैन ।

एक अवार्ड कार्यक्रममा अवार्ड पाएपछि उक्त कलाकार तथा प्राविधिक अर्को अवार्डको मनोनयनमा नपरेको उदाहरण पनि उत्तिकै छन् । अझ आयोजकले युरोप, अमेरिका, क्यानडा जान चाहने कलाकार तथा प्राविधिकबाट पैसा लिएर अवार्ड दिने चलन पनि सामान्य भइसकेको छ ।

अवार्डमा देखिएको विकृतिलाई न्यूनिकरण गर्न न त फिल्मसँग सम्बन्धित कुनै संघसंस्थाले चासो दिएका छन्, न त चलचित्र विकास बोर्डले नै । चाँडै आयोजना हुन लागेको नेफ्टा अवार्डको गतिविधि हेर्दा पनि यसको कार्यशैली पनि अन्य अवार्डकै जस्तो देखिएको छ । किनकी अमेरिकामा हुने भनिएको यो अवार्डको स्थानीय दुई आयोजकले हात झिकिसकेका छन् । तर संघका अध्यक्ष पुष्कर लामा अमेरिकामै अवार्ड गर्ने भन्दै दौडधुप गरिरहेका छन् ।

अवार्ड भनेको कुनै कलाकारका लागि सम्मानको कुरा हो । अवार्ड पाएपछि पाउनेले र दिने दुवैले गर्वको महशुस गर्न सक्नुपर्छ । तर यहाँ अवार्ड दिने र अवार्ड पाउने दुवैलाई ‘कति रुपैंयाँ दिएको ?’ वा ‘कति रुपैंयाँ पाएको ?’ भन्ने प्रश्नले अवार्डको गरिमा फोहोरको डिब्बामै पुगिसकेको छ । यो संस्कारलाई अवार्ड आयोजक र अवार्ड पाउनेले जारी राख्ने हो भने अवार्डको गरिमा कहिले बढ्ला ? अवार्ड पाउनेले र अवार्ड दिनेले पनि गर्वका साथ छाती फुलाएर कहिले हिँड्न पाउलान् ? यो हाम्रो प्रश्न हो ।