‘कोतपर्व’मा सौगात मल्ल अनुवन्धित, नम्रताको बाटो कुर्दै निर्देशक


फिल्म ‘नालापानी’ निर्देशन गरेका निर्देशक रिमेश अधिकारीले अर्को ऐतिहासिक कथामा फिल्म ‘कोतपर्व’ बनाउँदैछन् । यो फिल्मको अहिले कथा फाइनल गर्ने र कलाकारसँग संझौता गर्ने काम अगाडि बढिरहेको छ । 

यसैबिच, फिल्ममा नायक सौगात मल्ल फाइनल भएका छन् । सौगातसँग लिखित रुपमा नै संझौता भएको निर्देशक अधिकारीले मेरो फिल्मलाई जानकारी दिए । उनले, सौगातको भूमिकाबारे अहिले केही पनि खुलाउन नमिल्ने समेत तर्क गरे । उनका अनुसार, एक साता भित्र सबै कलाकार फाइनल हुनेछन् । 

फिल्मको छायांकन भने चैत्र महिनाबाट सुरु गर्ने योजना निर्माणपक्षको छ । यो फिल्मका लागि निर्देशक अधिकारीले नायिका नम्रता श्रेष्ठलाई पनि अफर गरेका छन् । तर, नम्रता फिल्म ‘ह्यासट्याग माया’मा व्यस्त भएकाले उनीसँग फाइनल कुरा हुन पाएको छैन ।

यो फिल्मको कथा लेख्न तीन बर्ष लागेको अधिकारीको भनाई छ । ‘कोतपर्व’ नेपालको एक ऐतिहासिक घटना मानिन्छ । जहाँबाट जंगबहादुर राणाको उदय भएको मानिन्छ ।