ओस्कारको सेमिफाइनलमा पुगेको चम्पारण मटन

एक श्रीमान आफ्नो श्रीमतिको माग पुरा गर्नका लागि आठ सय रुपैंयाँ किलोको खसीको मासु कसरी किन्छन् ? बेरोजगारीको समयमा एक गरिब परिवारको संघर्षमा बनेको फिल्म ‘चम्पारण मटन’ ।

समस्या परेको बेला घरमा मासु पाकिरहेको छ र अचानक कोही पाहुना आए भने के होला ? जब खसीको मासुको बासना सुँघेर छिमेकी पनि मासुको स्वाद चाख्न पुग्दाको अवस्था के होला ?
‘चम्पारण मटन’ यही आर्थिक सामाजिक खिचातानीको बीच बनेको एक फिल्म हो । यो फिल्म पुणेको फिल्म एण्ड टेलिभिजन इनिस्टिच्यूटमा निर्देशन विषय पढिरहेका रन्जन उमा कृष्ण कुमारले बनाएका हुन् ।

आफ्नो अन्तिम सेमेस्टरको पढाईको प्रोजेक्टका रुपमा उनले २४ मिनेटको यो फिल्म बिहारको बज्जिका भाषामा बनाएका थिए ।

बज्जिका बिहारको राजधानी पटनाको नजिकै रहेको मुज्फ्फरपुरको आसपास बोलिने भाषा हो । 

ओस्कार सेमिफाइनलसम्मको यात्रा

यो फिल्मलाई कैयौं मानिसले मनपराएका छन् । यो फिल्म ओस्कारको स्टुडेण्ट एकेडेमी अवार्डको फिल्म नेरेटिभ क्याटेगोरीको सेमिफाइनलमा पुगेको छ । स्टुडेण्ट एकेडेमी अवार्ड चार अलग–अलग विधामा दिइन्छ ।

यो वर्षको एफटीआईआईको कुल तीन फिल्मलाई ओस्कारका लागि पठाइएको थियो । तर यसमा केवल ‘चम्पाकरण मटन’मात्र छानियो । 


स्टुडेण्ट एकेडेमी अवार्ड फिल्म प्रशिक्षण संस्थानहरुबाट फिल्म बनाउनका लागि अध्ययनरत विद्यार्थीको फिल्मलाई दिइन्छ । यो अवार्ड सन् १९७२ देखि दिइँदै आएको छ । 
यो विधाका लागि विश्वभरबाट २४ सय बढी फिल्म पुगेका थिए । ‘चम्पारण मटन’ सेमिफाइनलसम्म उत्कृष्ट १७ फिल्ममा पुगेको छ । यो अवार्डको घोषणा आगामी अक्टोबरसम्म हुनेछ ।

‘चम्पारण मटन’ एक आम परिवारको सम्बन्ध र उसको संघर्षको कथा हो । फिल्मको सुटिङ महाराष्ट्रको बारामतीमा भएको हो । फिल्मको सुटिङ करिब १ महिनासम्म भएको थियो ।

रन्जन कुमारका अनुसार उनी यो फिल्ममा बिहारको माटोको सुगन्ध चाहन्थे । यो फिल्म पाँच विद्यार्थीको डिप्लोमा फिल्म हो । फिल्मका लागि एफटीआईआईबाट धेरै पैसा दिइँदैन ।
रन्जनले यो फिल्म बनाउनका लागि आफूमाथि एक लाख रुपैंयाँ ऋण पनि लागेको खुलाएका छन् ।

व्यवस्थामाथि एक तिखो व्यंग्य हो फिल्म

‘चम्पारण मटन’ बिहारको चम्पारणमा एक खास तरिकाले पकाइने मटनका रुपमा प्रख्यात छ । यसलाई माटोको हाँडीमा कम आगोमा पकाइन्छ ।

बिहार मात्र होइन, भारतका कैयौं इलाकामा रहेका कैयौं होटल र रेष्टुरेन्टमा यो मटनलाई देख्न पाइन्छ । मटनको सौखिनलाई यो फिल्मको एक मांसाहारी व्यञ्जनसँग जोड्न सक्छ ।
निर्देशक रन्जन कुमार बिहारको हाजीपुरका हुन् । उनले फिल्ममार्फत देशको सामाजिक र राजनीतिक व्यवस्थामाथि एक तिखो व्यंग्य गरेका छन् ।

‘यदि एक शब्दमा भन्ने हो भने यो फिल्मको थिम बेरोजगारी हो । यो कोभिड पछिको कथा हो, जसमा लकडाउनका कारण कसैको रोजगारी गएको थियो’, उनले भनेका छन् ।

रन्जनका अनुसार फिल्मका अभिनेताले प्रेम विवाह गरेका हुन्छन् । उनकी पत्नी चम्पारणकी हुन् । उनी गर्भवती छिन् र मटन खाने इच्छा देखाउछिन् ।

रन्जनले यो फिल्मको प्रेरणा एक सत्य घटनाबाट पाएका हुन् । एकपटक उनी अचानक पटनामा रहेको दानापुरमा आफन्तको घर पुगेका थिए । जहाँ मटन पाकिरहेको थियो ।

ठीक त्यही बेला त्यहाँ एक परिचित डाक्टर पुगे र फेरि मटनको बासनाले छिमेकीलाई पनि बोलायो । यस्तो स्थितिमा कुनै परिवारमा कस्तो तनाव आउला ? यो फिल्मले त्यही कथा देखाउँछ ।

यो फिल्मको मुख्य कलाकारमा चन्दन राय र फलक खान छन् । यो फिल्ममा बिहारका करिब १० कलाकार आबद्ध छन् । चन्दन र फलक बिहारकै हुन् ।

मुख्य कलाकारले लिएनन् पैसा

चन्दन बिहारको हाजीपुरका हुन् र प्रख्यात वेब सिरिज ‘पञ्चायत’मा उनको अभिनयको निकै सराहना भयो । चन्दनले ‘पञ्चायत’मा सचिवको सहायक विकासको भूमिका निभाएका थिए ।

‘यो विद्यार्थीको फिल्म हो, यसका लागि एफटीआईआई धेरै पैसा दिँदैन । यसकारण मैले पैसा लिइनँ । यो फिल्म बज्जिकामा छ र मेरो आफ्नो भाषा हो र निर्देशक रन्जन पनि हाजीपुरबाट हुन् । यही कुरा थाहा पाएर मैले काम गर्ने इच्छा देखाएको थिएँ’, चन्दनले भनेका छन् ।

चन्दनका अनुसार उनले केवल एक विद्यार्थीका रुपमा रन्जनलाई सहयोग गर्नका लागि सहमति जनाएका थिए । यो फिल्मको कथा केही राम्रो थियो, तर ‘चम्पारण मटन’ ओस्कारमा यति टाढासम्म पुग्ला भनेर कसैले सोचेका थिएनन् ।

फिल्मकी मुख्य नायिका फलक खान भन्छिन्, ‘रन्जन सर इञ्जिनियरिङमा हामीभन्दा सिनियर थिए । मलाई उहाँको फोन आएपछि एक कलाकारका रुपमा मलाई यसको कथा मनपर्यो । यसको नाम पनि निकै विशेष र आकर्षक छ । यसको कथामा मलाई अभिनय गर्न निकै मन थियो ।’

फलकका अनुसार नायिकाका रुपमा ग्ल्यामरस भूमिका बढी मिल्छ । तर यो फिल्ममा उनले आफ्नो भूमिका फरक देखिन् । फिल्मा उनको लुक्स पनि निकै फरक छ ।

फलकले यसअघि कैयौं फिल्ममा काम गरिन् । तर उनका अनुसार ‘चम्पारण मटन’को कथा साँच्चै सत्य देखिन्छ । यो फिल्ममा उनको अभिनयलाई पनि धेरैले सराहना गरेका छन् ।

‘एक दृश्य छ, जसमा म रिसाएकी छु र मेरा पति चन्दन मलाई मनाइरहेका छन्, मेरो खुट्टा थिचिरहेका छन् । म उनलाई धकेल्छु र भन्छु ‘छोड्नुहोस्, नत्र त एक लात हिर्काउँछु ।’ यो दृश्य निकै मजेदार छ र कैयौ मानिसले यसको सराहना गरेका छन्’, उनी भन्छिन् ।

रन्जन कुमार भन्छन्, ‘मेरी आमा चम्पारणबाटै हो । घरमा कहिल्यै मटन पकाउनु पर्दा कति समस्या पथ्र्यो भन्ने कुरा मैले देखेको छु । यो निकै महंगो हुन्छ । मलाई यसैबाट यसबारेमा फिल्म बनाउनु पर्छ कि जस्तो लागेको थियो ।’

यो फिल्मले दरभंगाको बुजुर्ग कलाकार मीरा झालाई पनि आकर्षित गरेको थियो । मीरा लामो समयसम्म आकाशवाणीसम्म जोडिइन् र कैयौं स्थानीय फिल्ममा पनि काम गरिन् ।
सुरुमा उनी यसका लागि तयार थिइनन्, तर बज्जिकाको कथा सुनेर उनी निश्चित नभईकन पुणे गइन् । फिल्ममा मीराले नायकको हजुरआमाको भूमिका निर्वाह गरेकी छन् । –बीबीसीबाट