‘रंगी’को शिर्ष गीतः सलोनकी श्रीमती मलिका
फागुनको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रंगी’को शीर्ष गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा आमेश भण्डारी र समीक्षा अधिकारीको स्वर, आमेशकै शब्द तथा संगीत छ ।
भिडियोमा फिल्मका मुख्य कलाकार सलोन बस्नेत नायिका मलिका महत्तसँग देखिएका छन् । मलिकाको प्रवेशले फिल्मप्रति दर्शकको उत्सुकता अझै बढाउने देखिन्छ ।
रोमान्टिक शैलीको यो गीतमा चिया बेच्दै हिँडेकी मलिकासँग सलोनको भेट र त्यसपछि उनीहरूमा अंकुराएको प्रेमलाई देखाइएको छ ।
गीतमा सलोन र मलिकालाई प्रेम, विवाह र सन्तानको अभिभावक बन्ने अवस्थासम्मको दृश्यलाई समावेश गरिएको छ ।
यो गीत सार्वजनिक भएसँगै फिल्ममा सलोनकी श्रीमती को हुन्छिन् भन्ने कौतुहलता पनि मेटिएको छ । सान्भी इन्टरटेन्मेन्ट प्रालिको व्यानरमा निर्माण भएको यो फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरेका हुन् ।
सक्षम सुवेदी, करिश्मा केसी बस्नेत, अनिश गौतम निर्माता रहेको यो फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीको अभिनय छ ।
सुमन गजमेरको लेखन रहेको यो फिल्ममा सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी छ ।
प्रतिक्रिया