प्रदीप खड्काः फिल्मका लागि लागिपर्ने एक नायक

फिल्म ‘एक्टरः टेक १’ रिलिजपछि पनि नायक प्रदीप खड्का दौडधूप गरिरहेका छन् । उनी, फिल्म प्रचारका लागि दाङ, नेपालगञ्ज पुगे । 

उसो त प्रदीपको दौडधूप फिल्म रिलिजपछि मात्र भएको होइन । फिल्म रिलिज अगाडि पनि करिब एक महिनादेखि प्रदीप यही फिल्मका लागि दौडिरहेका थिए । 

फिल्म एउटा लफडामा फस्यो । अदालतमा समेत मुद्दा पुग्यो । अधिकांश कलाकारहरू फिल्मको लफडाको विषयमा मौन बस्छन् ।

निर्माता निर्देशकले नै मिलाउनुपर्ने कुरा हो जस्तो गर्छन् । तर, प्रदीप मौन बसेनन् । निर्माता निर्देशकलाई आफू साथमा रहेको महशुश गराए । फिल्म कसरी रिलिज गर्न सकिन्छ भन्नेमा उनले दौडधूप गरिरहेँ । 

नेपाली फिल्ममा कमै मात्र कलाकार हुन्छन्, जो फिल्ममा काम गरेपछि पनि त्यसलाई आफ्नै हो भन्ने सोचेर दौडिन्छन् ।

केही कलाकारहरूको सोच फिल्ममा काम गरेपछि सकियो भन्ने पनि हुन्छ । सकेसम्म फिल्मको प्रचारमा दौडिन भन्दा अर्को फिल्म गरिहाल्न पाए हुन्थ्यो भन्ने सोच बोकेका कलाकारहरूको संख्या धेरै देखिन्छ । 

फिल्म चल्दा सबैभन्दा बढी फाइदा हुने कलाकारलाई नै हो । एउटा फिल्म चल्ने बित्तिकै आफ्नो पारिश्रमिक बढाउनेदेखि बजारमा भाउ खोज्ने कलाकारहरूको संख्या धेरै नै छ । तर, प्रदीपले फिल्मका लागि दिएको समय गज्जब छ । 

फिल्म चल्नु वा नचल्नु दोस्रो कुरा हो । तर, फिल्मका लागि नाम चलेका स्टारले पुरा शक्ति लगाए भने निर्मातालाई पनि ठूलो आत्मसन्तुष्टि मिल्छ ।

प्रदीपले ‘एक्टर–टेक १’का लागि आफ्नो समय पुरा लगाएका छन् । विवादका विषयमा खुलेरै बोलेका छन् । फिल्म चलेपछि दर्शकसम्म पुगेर जानकारी गराइरहेका छन् ।

एउटा कलाकारले आफ्नो प्रोजेक्टका लागि गर्नुपर्ने नै यही हो । जुन प्रदीपले गरिरहेका छन् ।