‘जनै हराएको बाहुन’को मन छुने थिम संवाद
आम गाउँले युवाले भोग्दै आएको समस्याको कथामा तयार हुन लागेको फिल्म ‘जनै हराएको बाहुन’को संवाद भिडियो सार्वजनिक गरिएको छ । संवादमा भनिएको छ–‘साथी तैँले पनि गाउँ छोड्न लागिस् नि ? गाउँ नछोडी त सपना पुरा नुहुँदो रहेछ साथी’ ।
आम गाउँले नेपाली युवाले भोग्दै आएको समस्याको कथामा तयार हुन लागेको यो फिल्मलाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । सानासान रहर र सपना पूरा गर्न वृद्ध भइसकेका एक्ला बाबुआमालाई अनकन्टार गाउँमा एक्लै छाडेर हिँड्नु परेको पीडा यो फिल्मले भन्छ ।
सार्वजनिक थिम संवादमा फिल्मका मुख्य कलाकार विजय बराल र असोसियट निर्देशक तथा अभिनेता मनिष राउतको स्वर छ । थिममा रहेको गीत गाएर टिकटक बनाएर पोस्ट गर्नेलाई यो फिल्मको गीत गाउन दिने निर्देशक न्यौपानेको भनाई छ । यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।
पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको फिल्ममा भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद छ । यो फिल्मले गाउँबाट शहर आएको एक सामान्य व्यक्तिले भोग्ने अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याउने परिवर्तनलाई देखाउने निर्देशक न्यौपानेको भनाई छ ।
फिल्मको निर्मातामा सीआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डीसी र निशान्त श्रेष्ठ छन् । नवीन गुरुङको छायांकन रहने फिल्मका लागि अन्य कलाकार तथा प्राविधिकहरु फाइनल हुन बाँकी छ । चैत्रबाट यो फिल्मको छायांकन सुरु गर्ने निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया