बिहिबारदेखि ‘पुष्पा २’को कब्जामा नेपाली हल, के छ नेपाली फिल्मको अवस्था ?
साढे २ महिना हलमा नेपाली फिल्मले एकछत्र राज गरे । बक्स अफिसमा नेपाली फिल्मको आक्रामक व्यापारले सबैलाई खुशी तुल्यायो ।
तर, अब केही साता नयाँ नेपाली फिल्मको रिलिज सेड्यूल छन् । तर, प्रदर्शकहरुलाई भने दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को हिन्दी भर्सनले राहत दिएको छ ।
बिहिबारदेखि रिलिजमा आउन लागेको यो फिल्मको बूकिङ खुलेको छ । यो फिल्मलाई देशभरका हलले आक्रामक शोज दिएका छन् । उपत्यकामा मात्र क्यूएफएक्स चेनले यो फिल्मलाई ८० शोज उपलब्ध गराएको थियो ।
वान सिनेमाज्ले यो फिल्मलाई नयाँ बाँनेश्वर र काठमाडौंमा गरेर २१ शोज उपलब्ध गराएको छ । बिहान पौने ५ बजेबाट यो फिल्मको शोज वान सिनेमाज्मा राखिएको छ ।
बीग मुभिजले यो फिल्मलाई १७ शोज दिएको छ । रातको ११ः५५ बजेसम्म बिगमा यो फिल्मको शोज राखिएको छ ।
यी बाहेक अन्य हलमा पनि यो फिल्मले कब्जा गरेको छ । यसैले, यो फिल्मले पहिलो दिन ३ करोड माथिको ओपनिङ गर्ने देखिएको छ । फिल्मको बूकिङ खुल्नासाथ आक्रामक रुपमा टिकट विक्री भइरहेको छ । अल्लु अर्जुन र रश्मिका मन्दना अभिनित यो फिल्मको पहिलो भागले पनि नेपालमा आक्रामक व्यापार गरेको थियो ।
‘पुष्पा २’ रिलिज हुँदा नेपाली फिल्मको शोज भने खुम्चिएको छ । बिहिबारदेखि फिल्म ‘ह्रस्व दीर्घ’को शोज हटाइएको छ । अर्को फिल्म ‘तेल भिसा’ केही हलमा एक–एक शोजमा खुम्चिएको छ ।
यस्तै, ब्लकबस्टर व्यापार गरेको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’को शोज भने खुम्चिएको छ । जसले गर्दा, बिहिबारबाट नेपाली हलमा ‘पुष्पा २’को राज चल्ने देखिन्छ ।
प्रतिक्रिया