‘१२ गाउँ’मा विराजको जोडी सनिशा

म्युजिक भिडियोकी सफल मोडल सनिसा भट्टराईले अब नेपाली फिल्म क्षेत्रमा पाइला राखेकी छिन् । उनले, नेपाली फिल्म क्षेत्रका एक्सन स्टार विराज भट्टको नयाँ फिल्म ‘१२ गाउँ’बाट डेब्यू गर्ने पक्का भएको छ । सनिशाले केही दिन अगाडि यो फिल्म साइन गरेपनि आज मात्र सामाजिक संजालबाट फिल्ममा काम गर्न लागेको जानकारी दिएकी छिन् । 

विराजले सामाजिक संजालबाट सनिशालाई फिल्ममा अनुबन्धित गरेको भन्दै खुशी व्यक्त गरेका छन् । उनले लेखेका छन्–‘धेरै संभावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिसा भट्टराई हाम्रो फिल्म १२ गाउँ मार्फत प्रमुख भूमिकामा आफ्नो फिल्मी यात्रा सुरुवात गर्दै ।’

यता सनिशाले पनि सामाजिक संजालबाट फिल्ममा अनुबन्धित भएको जानकारी दिँदै उत्साह व्यक्त गरेकी छिन् । उनले लेखेकी छिन्–‘नेपाली फिल्मका सफल निर्माता, कलाकार विराज भट्टद्वारा निर्देशित तथा निर्माण हुन लागेको फिल्म १२ गाउँमा मुख्य नायिकाको रुपमा अभिनय गर्ने सौभाग्य प्राप्त गरेकी छु । यसको सम्पूर्ण श्रेय मेरा आम दर्शक र १२ गाउँको टिमलाई दिन चाहन्छु । हजुरहरूको आर्शीवाद र सल्लाह सुझावका कारणले नै म आज यहाँसम्म आएकी छु । यो भन्दा धेरै अगाडि सम्म हिँड्ने चाहना छ ।’

विराजको यो फिल्ममा उनका छोरा समीर भट्टले पनि काम गर्दैछन् । फिल्ममा सनिसा विराजको जोडीको रुपमा देखिन लागेको वुझिएको छ । सनिशाले ‘ए होर माया’ बोलको गीतमा अभिनय गरेपछि उनको चर्चा म्युजिक भिडियोमा चुलिएको थियो ।