‘रावायण’को छायांकनका क्रममा पल शाह घाइते

नायक पल शाह फिल्म ‘रावायण’का लागि एक्सन दृश्यको छायांकनका क्रममा घाइते भएका छन् । उनको हातमा चोट लागेको छ । उनलाई सर्लाहीको एक अस्पतालमा उपचार गराइएको निर्माणपक्षले बताएको छ । पलको हातमा चोट लागेको निर्मात्री तथा नायिका पूजा शर्माले जानकारी दिइन् । 

एक्सनको दृश्य गर्ने क्रममा पलको हातमा चोट लागेपछि टाका लगाइएको छ । उनले अब केही दिन एक्सनको दृश्य गर्न नसक्ने निर्मात्री शर्माको भनाई छ । 

शर्माका अनुसार, फिल्ममा एक्सन गर्ने क्रममा पलको हात भिलेन पात्रको दातमा ठोक्किएको थियो । फिल्ममा भिलेनको भूमिका निर्वाह गरिरहेका कलाकारको पनि दात हल्लिएको छ । 

फिल्मको क्लाइमेक्स दृश्यको छायांकन अब हेटौंडामा हुने निर्माणपक्षले बताएको छ । आजबाट भने पूजा र पलको रोमान्टिक दृश्यको छायांकन सुरु हुनेछ । 

सुदर्शन थापाको निर्देशनमा तयार भइरहेको फिल्ममा श्री श्रेष्ठको एक्सन, सौरभ लामाको छायांकन छ । 

यो फिल्मलाई भदौको २१ गतेबाट रिलिज गरिने निर्माणपक्षले जानकारी दिएको छ । फिल्ममा पलले दोहोरो भूमिका निर्वाहा गरिरहेका छन् ।