मलिकाको ‘सतीदेवी’लाई सेन्सरबाट सुखद प्रतिक्रिया, धरान र विर्तामोडमा विशेष शो हुँदै

लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको फिल्म ‘सतीदेवी’लाई चलचित्र सेन्सर बोर्डले यूनिभर्सल सर्टिफिकेट दिएको छ । 

आज फिल्मको सेन्सर भएपछि सबैले हेर्न मिल्ने गरी यसलाई प्रमाणपत्र दिइएको निर्देशक सुवेदीले बताए । उनका अनुसार, सेन्सरबाट फिल्मलाई उत्कृष्ट प्रतिक्रिया मिलेको छ । 

निर्देशक सुवेदीले भने–‘हामीले उठान गरेको कथावस्तुले सबैको मन छोएको छ । सेन्सर बोर्डका सबै कर्मचारीहरूले फिल्म राम्रो बनेको भन्दै प्रशंसा गर्नुभयो । अब, हामी दर्शकको प्रतिक्रियाको प्रतीक्षामा छौँ ।’

यो फिल्मको मङसिर २५ गते धरानमा विशेष शोको समेत आयोजना हुँदैछ । चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको आयोजनामा फिल्मको विशेष शो आयोजना हुन लागेको हो । यस्तै, मङसिरको २६ गते फिल्मको विशेष शो विर्तामोडमा हुँदैछ । 

शोमा सहभागी हुनका लागि नायिका मलिका महत् र निर्देशक लक्ष्मण सुवेदी धरान र विर्तामोड पुग्नेछन् । 

यो फिल्मको फस्टलुक सार्वजनिक भएसँगै यसले चर्चा पाएको थियो । नायिका मलिका महतको नयाँ अवतारलाई दर्शकले रुचाएका छन् ।