ब्रान्डमा केकीः पहिलो पारिश्रमिक २५ हजार, दर्जन बढीमा अभिनय

कुनै पनि कलाकारको लोकप्रियता फिल्मको व्यापारले मात्र निर्धारण गर्दैन । उक्त कलाकारलाई ब्रान्ड बजारले कसरी हेरिरहेको छ, कसरी रुचाएको छ भन्ने कुराले उसको लोकप्रियता मापन गर्छ । कुनै पनि कम्पनीको विज्ञापनमा काम गर्दा कलाकारहरु आम मानिसको घर–घरसम्म सहजै पुग्न सक्छन् । जसकाकारण, पनि ब्रान्ड कलाकारहरुका लागि प्रिय हुन्छ । अर्कोतिर, बर्षमा केही मात्र फिल्म खेलेर राम्रो आम्दानी हुँदैन । ब्रान्डमा राम्रो क्रेज बनाउन सक्ने हो भने कलाकारको आम्दानी पनि ह्वात्तै वृद्धि हुन्छ ।

ब्रान्डको दुनियाँमा रुचाइएकी नायिका हुन् केकी अधिकारी । केकी अधिकारी विशेषगरि, विवादमा निकै कम पर्ने भएकाले पनि उनलाई ब्रान्ड बजारले बढी रुचाउँछ । फिल्मको नाफा र घाटाले केकी अधिकारीलाई ब्रान्ड बजारमा कुनै असर गरेको छैन । उनी, आज पनि ब्रान्डको पहिलो रोजाइको नायिका बनेकी छिन् ।

केकीले आफ्नो करिअरको सुरुवात नै क्लोज अपको विज्ञापनबाट गरेकी थिइन् । उक्त समयमा केकीले २५ हजार पारिश्रमिक वुझेकी थिइन् ।

कुनै पनि ब्रान्डले जब कलाकारलाई अफर गर्छ, त्यसपछि कलाकारले पनि त्यसको प्रभाव र आर्थिक अवस्था हेरेर काम गर्ने वा नगर्ने निर्णय लिन्छन् । केकीले समाजमा प्रत्यक्ष रुपमा विज्ञापनले प्रभाव पार्ने भएकाले आफूले धेरै सोचेर मात्र काम गर्ने गरेको बताइन् । केकी अहिलेको अवस्थामा पनि ब्रान्डबाट राम्रो पैसा लिएको बताइन् । तर, उनले पारिश्रमिक भने खुलाइनन् ।

केकी भन्छिन्–‘मैले करिअर नै क्लोजअपको विज्ञापनबाट सुरु गरेकाले मलाई विज्ञापन क्षेत्र निकै नै प्यारो लाग्छ । अहिले ब्रान्डहरुको वुझाई पनि निकै फरक छ । अहिले त व्यवसायिक रुपमा नै संझौता हुन्छ ।’

केकीले अहिलेसम्म दर्जन बढी विज्ञापनमा काम गरिसकेकी छिन् । केकीले काम गरेको ‘एनआइसी एसिया बैैंक’को विज्ञापन अहिले सर्वाधिक चर्चित छ । यस्तै, उनले ‘अनार चामल’को विज्ञापनमा पनि काम गरेकी छिन् ।

केकीले ‘बर्जर पेन्ट, सिल्कवेयर, लोकान्तर डट कम, नेपाल ग्यास, पेप्सी, लाली चाउचाउ, भिक्टोरिया यूनिभर्सिटी’ लगायतका ब्रान्डका विज्ञापनमा काम गरिसेकी छिन् ।

विशेषगरि, केकीको शान्त स्वभाव, कुनै पनि कुरामा तार्किक रुपमा प्रस्तुति दिन सक्ने क्षमता आदिका कारण दर्शकले पनि रुचाएका छन् । उनलाई विज्ञापन बजारले खोज्नुको कारण पनि उनको छवि नै हो ।