एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

नेपाली ब्रान्डमा नेपाली कलाकारको उपस्थिति बलियो बन्दै गएको छ । जसले गर्दा, कलाकारहरूलाई पनि आम्दानीको राम्रो श्रोत ब्रान्ड बजार बनिरहेको छ । अर्कोतिर, ब्रान्डलाई पनि नेपाली कलाकारको अनुहार राखेर प्रमोशन गर्दा फाइदा पनि भइरहेको छ । 

तर, एउटै कलाकारलाई उस्तै प्रकृतिका ब्रान्डका फरक फरक विज्ञापनमा देखाउँदा ग्राहक झुक्किने सम्भावना बढी हुन्छ । 

मोडल पूजा गिरीलाई राखेर विज्ञापन एजेन्सीहरूले ३ वटा फरक–फरक बैंकको प्रचार सामाग्री तयार पारेका छन् । पूजाको अनुहार ३ फरक फरक बैंकका प्रचारमा राख्दा ग्राहक झुक्किने सम्भावना बढी देखिएको छ । तर, विज्ञापन एजेन्सीले यो कुरामा चरम हेलचक्राई गरेका छन् । अर्कोतिर, पूजाले पनि यहाँ व्यावसायिक धर्म निर्वाह नगरेको देखिन्छ । 


एउटै, कलाकारको अनुहार ३ फरक–फरक बैंकको प्रचारमा राख्दा बैंकका ब्रान्ड म्यानेजरहरूले समेत ध्यान नदिएको पाइएको छ । एउटै कलाकार देख्दा ग्राहकलाई पनि कुन बैंक राम्रो हो र कुन बैंकमा खाता खोल्दा ठिक हुन्छ भन्ने विषयमा अलमल भएको पाइन्छ । यसैले, विज्ञापन एजेन्सीदेखि कलाकार हुँदै बैंकका म्यानेजरहरूले समेत यसमा बढी ध्यान केन्द्रित गर्नुपर्ने देखिएको छ । 

प्रायः कलाकारहरूले एउटै प्रकृतिका व्यवसायको ब्रान्ड प्रमोशन गर्दा एउटामा काम गरेपछि अर्कोमा गर्दैनन् । तर, यहाँ भने एनएमबि बैंक, कुमारी बैंक र ग्लोबल आईएमई बैंकका विज्ञापनमा एकसाथ काम गरिरहेकी छिन् ।