सनी देवल र साहरुख खानः ५ सय करोड क्लबका २ नायक


कोरोनाका कारण शिथिल बनेको बलिउड फिल्म नगरि फेरि पुरानै लयमा फर्किएको छ । बलिउडका फिल्महरुले दर्शकको साथ पाउन थालेका छन् । यो बर्ष मात्र बलिउडले ५ सय करोड क्लबको सुरुवात गरेको छ । नायक साहरुख खानको फिल्म ‘पठान’ले जनवरी महिनामा ५ सय करोड क्लबको सुरुवात गरेको थियो । यसपछि, रिलिज भएका केही फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्यो । 

अब, अर्को फिल्म पनि ५ सय करोड क्लबमा प्रवेश गरेको छ । नायक सनी देवल अभिनित फिल्म ‘गदर २’ पनि आज आइतबार भारतीय बक्स अफिसमा ५ सय करोड क्लबमा प्रवेश गर्दैछ । फिल्मको बक्स अफिसमा बम्पर व्यापारले बलिउडलाई सुख दिएको छ । 

शनिबार बेलुकी फिल्मको सफलताका लागि भव्य पार्टीको आयोजना गरिएको छ । जहाँ, नायक साहरुख खान आफ्नी पत्नी गौरी खानसँग पुगेका थिए । फिल्म ‘डर’मा काम गरेपछि साहरुख र सनीबिच मनमुटाव सुरु भएको थियो ।

फिल्मको नायक सनी भएपनि खलनायकको भूमिकामा देखिएका साहरुखले सबै लाइमलाइट बटुलेका थिए । यसपछि, यी दुई नायकले एकसाथ फिल्ममा काम गरेका छैनन् । 

तर, ‘गदर २’ सफल भएपछि सनीलाई साहरुखले फोन गरेर बधाई दिए । उनी, शनिबार बेलुकी पार्टीमा पुगे र सनीसँग खुशी देखिए । 

बलिउडले बिहिबारदेखि रिलिजमा आउन लागेको फिल्म ‘जवान’बाट पनि ५ सय करोड क्लबको नयाँ फिल्म पाउने अपेक्षा गरिएको छ । यसरीहेर्दा, बलिउड फेरि लयमा फर्किएको छ । जसलाई ९० का दशकका नायकहरुले हाँकिरहेका छन् ।