५ दिनमै २ सय करोड क्लबमा ‘गदर २’, ‘ओएमजी २’ सय करोड नजिक


भारतीय बक्स अफिसमा फिल्म ‘गदर २’ले आक्रामक कलेक्शन गरिरहेको छ । यो फिल्मले ५ दिनको लामो विकेन्डमा बम्पर व्यापार गर्दै नयाँ इतिहास रचेको छ । फिल्मले भारतीय बक्स अफिसमा ५ दिनमा २२८.९८ करोडको कमाई गरेको हो । 

यो फिल्मले शुक्रबार ४०.१० करोड, शनिबार ४३.०८ करोड, आइतबार ५१.७० करोड, सोमबार ३८.७० करोड र सोमबार स्वतन्त्रता दिवसको बिदाको अवसरमा ५५.४० करोडको बम्पर व्यापार गरेको छ । सनी देवल र अमिषा पट्टेलको मुख्य भूमिका रहेको यो फिल्मले अब बाँकी दिनमा कति कमाई गर्छ, धेरैका लागि प्रतिक्षित बनेको छ । फिल्मको समीक्षा समीक्षकबाट औषत आउँदा दर्शकले भने यसलाई निकै मन पराएका छन् । 

यस्तै, शुक्रबारदेखि नै रिलिजमा आएको फिल्म ‘ओ माई गड २’ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ । फिल्मले शुक्रबार १०.२६ करोड, शनिबार १५.३० करोड, आइतबार १७.५५ करोड, सोमबार १२.०६ करोड र मंगलबार १७.१० करोडको कमाई गरेको छ । यो फिल्मले समीक्षा उत्कृष्ट पाएको छ ।

अक्षय कुमार, पंकज त्रिपाठी अभिनित यो फिल्मलाई दर्शकले पनि मन पराएका छन् । तर, यो फिल्म ‘गदर २’को भेलमा परेको छ । फिल्म सय करोडको दौडमा देखिएको छ ।