सलमानको घर बाहिर फायरिङ, बढाइयो सुरक्षा सर्तकता

बलिउड नायक सलमान खानको घर बाहिर फायरिङ गरिएको छ । आज बिहान ५ बजे सलमानको घर अगाडि ४ राउन्ड फायरिङ भएको हो । २ वटा बाइकमा चढेर आएका व्यक्तिहरूले फायरिङ गरेको प्रहरीले बताएको छ ।

फायरिङ भएको समयमा सलमान खान घरमै रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो घटनापछि महाराष्ट्रका सीएम एकनाथ सिन्देले सलमानसँग फोनमा कुरा गरेका थिए । उनले, सलमानको घरमा सुरक्षा बढाउन प्रहरीलाई निर्देशन समेत दिएका छन् । 

सलमानलाई लोरेन्स  विश्नोई गोल्डी बराड ग्याङले मार्ने धम्की दिएको थियो । यो घटनामा पनि यही समूहको हात भएको अनुमान लगाइएको छ । 

मिडियामा सार्वजनिक भएको सिसिटिभी फुटेजमा बाइकमा आएका व्यक्तिहरूले अनुहारमा मास्क लगाएको देखिन्छ । सलमानको घरको बालकोनीमा गोलीको निशाना समेत भेटिएको छ ।

प्रहरीले सलमान खान बस्दै आएको ग्यालेक्सी अपार्टमेन्टका ४ जना वाचम्यानको बयान पनि लिएको छ । सलमान विगत ४० बर्षदेखि यही अपार्टमेन्टमा बस्दै आएका छन् । अपार्टमेन्टको ग्राउन्ड फ्लोरमा सलमान एक्लै बस्दै आएका छन् ।