अनलाइनमा लिक भयो 'गदर-२', आज सय करोड छुने, यस्तो छ दुई दिनको कमाइ

सन्नी देवल तथा अमिषा पटेल स्टारर 'गदर-२'ले वक्सअफिसमा शानदार कमाइ गरिरहेको छ। 

फिल्मको यो कमाइले यसका मेकरलाई खुशी दिएको भए पनि अर्को एक खबरले भने उनीहरूलाई दुःखी बनाएको छ। रिलिजको तेस्रो दिन चलिरहँदा सिनेमा अनलाइनमा लिक भएका कारण उनीहरूलाई तनाब श्रृजना भएको हो। 
 
फिल्मको व्यापारमा असर गर्ने भएकाले उनीहरूका लागि यसरी फिल्म लिक हुनु दुखद खबर हो। भारतीय संचारमाध्यमहरुले फिल्म यूट्यूबमा रिलिज भएको जनाएका छन्। 

फिल्म 'मुभी रस' नामक यूट्यूब च्यानलबाट लिक भएको हो। सो च्यानलामा फिल्मको कथा पूरै खुल्ने गरी लिक भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

अनिल शर्मा निर्देशित फिल्मले रिलिजको तेश्रो दिन सय करोड भारुको आँकडा पार गर्ने बताइएको छ। फिल्मले रिलिजको पहिलो दिन ४० करोड भारुको कमाइ गरेको थियो भने दोस्रो दिन सिनेमाले ४३ करोड भारुको कमाइ गरेको छ। 

दुई दिनमा ८३ करोड भारू कमाएको फिल्मले रिलिजको तेस्रो दिन भारतमा साप्ताहिक विदाको फाइदा उठाउँदै सय करोड कमाउने प्रक्षेपण गरिएको छ।