बलिउड फिल्ममा फर्किए दर्शक

शुक्रबारबाट रिलिज भएका २ बलिउड फिल्मले दर्शक हलमा फर्काएका छन् । 

यो वर्ष रिलिज भएका फिल्ममध्ये ‘पठान’ले बक्स अफिसमा बम्पर व्यापार गरेको थियो । यसपछि, निरन्तर फिल्मको व्यापार ओरालो लागेको थियो । फिल्मलाई सय करोडको क्लबमा प्रवेश गर्न पनि समस्या परेको थियो । तर, अब भने बलिउडका दर्शकहरु हलमा फर्किन थालेका छन् । 

शुक्रबारदेखि रिलिज भएको फिल्म ‘गदर २’ले बक्स अफिसमा बम्पर ओपनिङ गर्यो । फिल्मले पहिलो दिन ४० करोडको ओपनिङ गरेको छ । यस्तै, शुक्रबारबाट नै रिलिज भएको फिल्म ‘ओ माई गड २’ले बक्स अफिसमा १० करोडको ओपनिङ गरेको छ । फिल्म ‘पठान’पछि बलिउड फिल्मको व्यापार एकै दिनमा ५० करोड माथि देखिएको हो । 

शनिबार यी दुवै फिल्मको व्यापारमा अझै वृद्धि भएको छ । विशेषगरि फिल्म ‘गदर’ले सिंगल हलमा समेत दर्शकको ठूलो भिड बढाएको विश्लेषण भइरहेको छ । 

यसअघि रिलिज भएको फिल्म ‘रक्की और रानी कि प्रेम कहानी’ले पनि बक्स अफिसमा सुखद व्यापार गर्यो । फिल्मले भारतीय बक्स अफिसमा १ सय ५० करोडको लाइफ टाइम कलेक्शन गर्ने प्रक्षेपण गरिएको छ । यसरी हेर्दा, बलिउडका दर्शक हलसम्म फर्किएको भन्दै ट्रेड विश्लेषकहरुले खुशी व्यक्त गरेका छन् ।