बक्स अफिसमा डुब्यो ‘आदिपुरुष’को जहाज


विकेन्ड कलेक्शनमा बम्पर व्यापार गरेको दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’को जहाज सोमबारबाट भने नराम्रोसँग डुबेको छ । भारतीय बजारसँग ओभरसिजमा पनि यो फिल्मको व्यापार पहिलो दिनको तुलानामा करिब ८० प्रतिशतले घटेको छ । 

यो फिल्मले विश्व बजारमा तिन दिन निरन्तर सय करोड माथिको ग्रस कलेक्शन गरेको थियो । फिल्मले हिन्दी भर्सनमा मात्र तिन दिनमा सय करोड भन्दा माथिको व्यापार गरेको थियो । 

यो फिल्मले पहिलो दिन हिन्दी भाषामा मात्र ३७ करोडको व्यापार गरेको थियो । यसपछि फिल्मको व्यापारमा खासै वृद्धि भएन । शनिबार र आइतबार पनि फिल्मको व्यापार ३७ र ३८ करोडको वरिपरी नै थियो । 

तर, तिन दिनको विकेन्ड सकिएसँगै फिल्मको व्यापार पहिलो अंकमा झरेको छ । फिल्मले सोमबार ८ करोड माथिको व्यापार गरेको छ । यो फिल्मको व्यापारमा देखिएको भारी गिरावट हो ।
 
६ सय करोडमा बनेको भनिएको यो फिल्मले भारतीय बक्स अफिसमा ३ सय करोडको आँकडा पनि छुने संभावना छैन । हिन्दी भाषामा फिल्मको व्यापार २ सय करोड नजिक पनि नपुग्ने देखिएको छ । यसले, निर्माण कम्पनी टीसिरिजलाई ठूलो घाटा लाग्ने देखिन्छ । 

चर्को आलोचनाका कारण यो फिल्मको व्यापारमा भारी गिरावट आएको हो । ओम राउतको निर्देशनमा तयार भएको फिल्ममा प्रभाष, कृति सेनन, सैफअली खान लगायतका कलाकारको अभिनय छ ।