अभिनेत्री अमिषा पटेलले गरिन अदालतमा आत्मसमर्पण, अनुहार छाेपेर पुगिन्

बलिउड अभिनेत्री अमिषा पटेलले राँची अदालतमा आत्मसमर्पण गरेकी छिन् ।

शनिवार अमिषा पटेल ठगी मुद्दामा उपस्थित हुन राँची सिभिल कोर्ट पुगिन्, त्यसपछि अभिनेत्रीले आत्मसमर्पण गरिन् ।

अभिनेत्री अमिषा पटेल र उनका व्यापारिक साझेदार कुणाल गुमार विरुद्ध ठगी मुद्दा दर्ता भएको थियो । उनीमाथि पैसा लिएर म्युजिक एल्बम नबनाएको आरोप छ । यसबाहेक उनीमाथि ठगी र धम्की दिएको पनि आरोप छ ।

यस मामिलामा राँची सिभिल कोर्टले अभिनेत्रीलाई अदालतमा उपस्थित हुन भनेको थियो तर उनी अदालतमा उपस्थित हुन इन्कार गर्दै आएकी थिइन् । जसकाकारण अदालतले उनीविरुद्ध वारेन्ट जारी गर्नु  परेको थियो ।

अदालतमा हाजिर भएपछि अमिषा पटेललाई २१ जुनसम्म सशर्त जमानत दिइएको छ । यस विषयमा अर्को सुनुवाइ जुन २१ मा हुनेछ। अदालतले सो समयमा पनि अमिषा पटेललाई  उपस्थित हुन आदेश दिएको छ ।

अर्गोरा निवासी अजय कुमार सिंहले नोभेम्बर १७, २०१८ मा सीजेएम अदालतमा सो मुद्दा हालेका थिए । अमिषा पटेलले संगीत बनाउने नाममा अजयकुमार सिंहसँग २.५ करोड भारतीय रुपैयाँ लिएको आरोप छ ।

तर त्यसपछि उनले संगीत निर्माणतर्फ कुनै कदम चालिनन् । यससँगै अमिषा पटेलले फिल्म ‘देस म्युजिक’ बनाउने नाममा अजय सिंहसँग २.५ करोड रुपैयाँ ठगी गरेको आरोप छ । सम्झौता अनुसार सन् २०१८ को जुनमा फिल्म रिलिज नभएपछि अजयले पैसा मागेका थिए ।

अमिषाको तर्फबाट ढिलाइ गरेपछि अक्टोबर २०१८ मा अजय सिंहलाई २.५ करोड र थप ५० लाख रुपैयाँको गरी दुई वटा चेक दिएका थिए, जुन बाउन्स भएको थियो । त्यसपछि अजय सिंहले अभिनेत्री माथि मुद्दा हालेका हुन् ।