दिनेश गौतम ‘पुस्तक प्रसाद’ का उत्कृष्ट पाँच गीत

दिनेश गौतम, एक नेपाली कलाकर्मी । उनलाई गायकको साथसाथै दर्शक श्रोताले साहित्यकारको रुपमा चिन्छन् । उनको गायकी संगै गीत, गजल, मुक्तक लेखनमा राम्रो दक्खाल छ । आज भने हामी उनको लेखनको पाटो भन्दा पनि गायनको चर्चा गर्दै छौ । लामो समयबाट सांगीतिक क्षेत्रमा काम गर्दै आएका उनी हाल युरोपमा रहेका छन् । आजको चर्चाको विषय भने गायक गौतम आफैँलाई समेत प्रिय लाग्ने केही गीतको विषयमा रहेको छ । हामीले सम्पर्क गर्दा उनले आफ्नो मनमा बस्न सफल केही गीतको तालिका दिएका छन् । हेरौ दर्शकको साथै गौतमको मनमा बस्न सफल केही गीत :

‘फर्केर आएन मायालु’ गीतमा गौतमको स्वर, शब्द, संगीत रहेको छ । गायकी बाहेक ‘पुस्तक प्रसाद’ नामले चिनिन रुचाउने उनको यो गीत प्रिय गीत अन्तर्गत पर्छ । उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा नाजिर हुसेन र श्रीस्टी खड्काको अभिनय तथा निशान कस्यपको निर्देशन रहेको छ । गीतले प्रेममा पाएको वियोगको कथा बोल्छ ।


पैसाको नकारात्मक विषय समेटेर बनाएको गीत ‘पैसा कसले बनायो’ गीतमा गौतम कै स्वर शब्द संगीत रहेको छ । गीतमा केकी अधिकारी, लोक मणी, रन्जन र चन्दनको अभिनय र प्रसन्नको निर्देशन रहेको छ । यस गीतमा समेत पैसाले प्रेमको मूल्य कम हुदै गएको उल्लेख गरिएको छ ।

‘घर बनाउला बांसै काटेर’ यो गीत पछिल्लो समय युवा पुस्ताले धेरै मन पराएको गीत हो । गौतमको स्वर रहेको गीतमा कोशिश छेत्रीको शब्द, संगीत रहेको छ । कार्टुन क्रु र भिम फेदी गाइजको अभिनय रहेको गीतले मन भए दुखमा समेत जिन्दगी खुसी खुसी बित्ने बताइएको छ । माया छ भने बासँको घरमा समेत खुसी मिल्छ भन्ने गीतको भाव छ ।

दिनेश गौतम कै स्वर संगीत रहेको ‘म मरिसके पछि’ बोलको गीतको शब्द पुरुषोत्तम बस्नेतले लेखेका हुन् । प्रेम वियोगको कथामा तयार गीत र भिडियोमा आयुष, शिशिर,शिलाश्मा र दिपेन्द्रको अभिनय रहेको छ । उदय राज पौडेलको संगीत संयोजन रहेको गीत विधान कार्कीले निर्देशन गरेका छन् ।

‘कसले बेच्यो कुरान’ मा दिनेश गौतमको स्वर, शब्द रहेको छ । भिडीयो तयार नगरिएको गीतमा गहकिला शब्द भेट्न सकिन्छ । गीतमा रिदम कणेलले संगीतको पाटो सम्हालेका छन् ।

गौतमका गीत हेर्दै गर्दा उनलाई कहिँ कतै प्रेम र प्रेममा पनि अमर प्रेम तर्फ लगाव रहेको देखिन्छ । उनका गीतमा प्रेम असफलताका कारण समेत खोजेको देख्न सकिन्छ । समग्रमा उनका गीत अजर अमर रहने प्रकारका रहेका छन् । कमर्सियल बन्दै गएको सांगीतिक क्षेत्रमा गौतमलाई लामो रेसको घोडा स्वीकार्न सकिन्छ ।