फिल्मका निर्देशकलाई छैन काम, म्युजिक भिडियोकालाई चामै चाम

कोरोनाका कारण फिल्म क्षेत्र चलायमान बन्न सकेको छैन । केहि फिल्मको छायांकन भइरहेता पनि प्रदर्शन गर्नका लागि हल खुलेका छैनन् भने पहिलो निषेधात्रापछि हल खुले पनि दर्शक हलमा गएनन् । फिल्मका निर्देशक बेरोजगार भएका छन् भने वैकल्पिक कामको खोजिमा रहेका छन् । कोही सिरियल तिर लागेका छन् ।

यस्तो अवस्था सरकारले निषेधाज्ञा खुकुलो बनाएसँगै म्युजिक भिडियोका निर्देशकहरुलाई भिडियो खिच्न चटारो छ । अहिले उनीहरु दैनिक रुपमा दुइ देखि ३ वटा म्युजिक भिडियो खिचाइरहेका छन् । नजिकिदै गरेको महिलाहरुको हरितालिका तीज लक्षित गीतहरुको छायांकन धमाधम भइरहेको छ भने अन्य गीतको म्युजिक भिडियो निर्माणका पनि उतिकै मात्रामा बढेको छ । यसका कारण भिडियो निर्देशकहरुलाई भिडियो निमौण गर्न दसैँ नै आएको हो ।

तीजले छपक्कै छोपेको छ भने आउन लागेको दसैँका बारेमा गीतका भिडियो निमार्ण भइरहेका छन् । अन्य समयमा भन्दा यो समयमा भिडियोका निर्देशकहरु ब्यस्त देखिन्छन् । किनभने तीजको सिजन भएका कारण जति सक्दो चाडो म्युजिक भिडियो निर्देशनन गर्नुपर्ने भएकोले दैनिक २ वटा भन्दा बढि गीतको छायांकन गरिरहेको निर्देशकहरु बताउँछन् ।
सरकारले निषेधाज्ञा खुलुको भएपछि म्युजिक भिडियो निर्देशक प्रकाश भट्टले ३ दर्जन भन्दा बढि भिडियो निर्देशन गरेका छन् ।
निर्देशक भट्टका अनुसार निषेधाज्ञा केहि खुलेपछि यता उनी एकदिन पनि फुर्सदमा बस्नुपरेको छैन । एक महिना अघि सरकारले आंशिक रुपमा निषेधाज्ञा खुकुलो गरेपछि कलाकार छायांकनमा पुर्याउन सजिलो भएको समेत उनले बताए । त्यो भन्दा अघि गाडी नचल्दा गाडीमा मान्छे ओसार्दा हैरान हुने गरेको आफ्नो अनुभव सुनाए ।

अहिले मोडल तथा निर्देशक शंकर बिसीलाई पनि काममा भ्याइ नभ्याइ भएको छ । भोपुरी फिल्म माहीको नृत्य निर्देशन गर्न भारत पुगेका शंकर बिसीले पनि दैनिक २ वटा म्युजिक भिडियो खिचिरहेका छन् । यता शिव बिकलाई पनि कामको चटारो रहेको छ ।
काजिश श्रेष्ठलाई पनि अहिले तीज गीतको भिडियो छायांकन गर्नुपर्ने उस्तै चटारो रहेको छ । उनले धेरै जसो दैनिक रुपमा २ वटा म्युजिक भिडियो छायांकन गर्दै आएको जानकारी दिएका छन् । कुनैमा आफै मोडलिङ गरेका छन् भने धेरै जसोमा भने उनी निर्देशकका रुपमा काम गरिरहेका छन् ।

आधुनिक गीतको निर्देशनमा पछिल्लो समय चर्चामा आएका सान थापाले पनि यो एक महिनाको अवधिमा आधा दर्जन भन्दा बढि म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । थोरै तर, राम्रो काम गर्ने म्युकिज भिडियो निर्देशकका रुपमा परिचित सान थापाले काम धेरै आएता पनि थोरै मात्र म्युजिक भिडियो निर्देशन गरेको बताए ।

लोकगीतको म्युजिक भिडियोमा परिचित निर्देशक हुन बिक्रम चौहानले पहिलाको तुलनामा कम म्युजिक भिडियो निर्माण भएको भएपनि खाली बस्नु नपरेको बताए । उनले कोरोनाको महामारी फैलिरहेको अवस्थामा थोरै कलाकार र प्राविधिक राखेर भिडियो खिचाइरहेको बताए ।

स्वास्थ मापदण्डको के छ पालना

कोरोना संक्रमित बढिरहेता पनि लोकगीतका छायांकनमा स्वास्थ्य मापदण्ड अपन्याएर छायांकन गर्न कठिन हुने निर्देशक प्रकाश भट्ट बताउँछन् । उनका अनुसार दर्जनौ कलाकारहरुलाई एकै ठाउँमा नचाउनु पर्ने भएकाले कामको सुरुवात देखि नै एउटै टिममा काम गर्दै आएकालाई मात्र सुटिङमा बोलाउने गरेका छन् ।

‘भिडियोमा छायांकनमा सबैले माक्स लगाउने कुरा भएन तर, छायांकन स्थलमा स्यानिटाइजर लगायतका सामानहरु भने प्रयोग गर्दै आएछौ,’उनले भने,‘कोही विरामी भएको खण्डमा भने वा अस्वस्थ भए छायांकनमा आउनुहुन्न । नत्र सबैले सधै काम गर्नुपर्ने बाध्यता भएका कारण कोरोनाको जोखिम कम हुन्छ ।’ एउटा तीजको गीत छायांकन गर्दा ५० जनाको ग्रुप हुने गरेका छन् । तर अहिलेसम्म कुनै समस्या नदेखिएको निर्देशक भट्टले बताए ।

यता अर्का भिडियो निर्देशक बिक्रम चौहानले पनि छायांकनका बेला स्यानिटाइजर प्रयोग गर्दै आएको बताए । उनले निषेधाज्ञापछि प्रमोद खरेल लगायत तीजका गीतमा छायांकन गर्दा स्यानिटाइजर लगाउदै काम गरेको बताए । उनले भने,‘पहिलाको तुलनामा थोरै कोरस राखेर तीजका गीत निर्माण गर्दै आएको छु । यस्तो बेला पर्दा पछाडीका मान्छेहरुले माक्स र स्यानिटाइजर अनिवार्य गरेका छौँ । तर, भेला हुँदा भने माक्स लगाउन सबै कोरसलाई अनिवार्य गर्ने गरेको छु । आधुनिक गीतको छायांकनमा भने थोरै कलाकार र प्राविधिक हूँदा भने जोखिम कम हुन्छ ।’

यता निर्देशक साना थापाले कोभिडको जोखिम कायमै रहेता पनि छायांकन बेला अभिनेता अभिनेत्री तथा अभिनय कर्तालाई माक्सलगाएर काम गराउन नमिल्ने बताए । त्यो बाहेक पर्दा पछाडी काम गर्ने निर्देशक , क्यामेरामेन,लगायत प्राविधिकहरुले भने माक्स लगाउने गरेको सुनाए । उनले भने,‘ पछिल्लो कोभिडमा जोगिदै काम गर्नु पर्ने बाध्यताहरु रहेको छ । तर, पनि थोरै कलाकार तथा प्राविधिकहरु राखेर अहिले छायांकन गरिरहेको छु ।’