फिल्ममा जाने हो भने थिएटरतिर नअल्मलिए हुन्छ : विपिन कार्की

अभिनेता विपिन कार्कीले फिल्ममा अभिनय गर्न चाहानेले थिएटरतिर नअल्मलिन सुझाव दिएका छन् । उनले आफ्नै अनुभव प्रस्तुत गर्दै थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा अभिनय गर्न चाहानेले फिल्मकै माध्यम समात्न सुझाव दिएका थिए ।
‘हामीलाई पनि सुरुमा यी दुई विधामा यतिविधि भिन्नता होला जस्तो लागेको थिएन । तर दुवैमा व्यापक भिन्नता रहेछ । अहिले छड्केको विन्दु हेर्दा मैले कति धेरै लाउड गरेछु भन्ने महसुस हुन्छ ’ मंगलबार अस्कर इन्टरनेसनल कलेज, कलेज अफ फिल्म स्टडिजका १६ औँ ब्याचका विद्यार्थीसँग अन्तक्र्रिया गर्दै विपिनले यस्तो धारणा राखेका थिए ।

गुरुकुल नाटक घरमा नाटकको प्रशिक्षण लिएका विपिनले ‘आचार्य’ फिल्ममा सानो भूमिकामा अभिनय गर्दै ठूलो पर्दाको यात्रा सुरु गरेका थिए । ‘लुट’मा पनि सानो भूमिकामा मै देखिएका विपिनले ‘छड्के’ गरेको विन्दु नामको भूमिकाले धेरैको मन जितेका थिए । तर अलि पछि रिलिज भएको ‘पशुपतिप्रसाद’मा गरेको भष्मे डनको भूमिकाले भने विपिनलाई अभिनयमा बहुआयामिक कलाकारको रुपमा स्थापित गरेका थिए ।
विद्यार्थीसँगको कुराकानीमा उनले आफूले गर्ने चरित्रको तयारीदेखि फिल्ममा चाहिने समर्पणसम्मको चर्चा गरेका थिए ।

आफूले निर्वाह गर्ने चरित्रमा कसरी डुब्नु हुन्छ ? भन्ने विद्यार्थीको प्रश्नमा विपिनको जवाफ थियो, ‘सबैका चरित्रमा पस्ने आआफ्नै तरिका हुन्छ । म चाहिँ स्क्रिप्ट कण्ठ पारेर यसको सुरुवात गर्छु । म स्क्रिप्ट कण्ठ पार्छु र यसो हुँदा मलाई चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ । यसपछि चाहिँ म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु ।’

उनले फिल्ममा करियर बनाउन जिन्दगी नै यही भनेर लाग्नुपर्ने पनि विद्यार्थीलाई सुझाएका थिए ।
दुई घन्टा लामो अन्तक्र्रियामा गुरुकुलका दिनदेखि अहिलेका दिनसम्मको चर्चा गरेका विपिनले फिल्ममा सफल हुन साना साना लक्ष्य लिन र ती पूरा भएपछि अर्को लक्ष्य लिन सुझाएका थिए ।
‘सुरुमा गुरुकुलमा छिर्दा मलाई पुग्यो भन्ने लागेको थियो । तर सौगात दाइ (सौगात मल्ल) फिल्ममा रमाएको देखेपछि म पनि फिल्ममा जान्छु भन्ने भयो । फिल्ममा पनि मैले सानो भूमिकाबाट सुरु गरेँ र यसमा पनि खुसी थिएँ । मेरो तपाईँहरुलाई यही सुझाव छ, सानो लक्ष्य लिनुस् र त्यो पूरा भएपछि अर्को लक्ष्य बनाउनुस्,’उनले विद्यार्थीलाई सुझाएका थिए ।

अस्कर कलेजले कलेजमा भर्ना भएका विद्यार्थीलाई फिल्म उद्योगका अनुभवीको अनुभव सुनाउन दुई हप्तादेखि फिल्मको विभिन्न विधाका व्यक्तिलाई अन्तक्र्रियामा निम्त्याउँदै आएको छ । चार हप्तासम्म चल्ने यो अन्तक्र्रियामा यसअघि नीर शाह, सुरक्षा पन्त, विपिन स्थापित, मुकुन भुसाल, स्वस्तिमा खड्का, प्रदीप भट्टराई, निरञ्जनराज भेटवालले विद्यार्थी माझ आफ्नो अनुभव बाँडिसकेका छन् ।


कलेजका एकेडेमिक कोअर्डिनेटर मनोजबाबु पन्तले नयाँ विद्यार्थीलाई भविष्यमा उनीहरुले काम गर्ने उद्योगको विषयमा पर्याप्त जानकारी होस् भन्ने उद्देश्यले आफ्नो विधामा स्थापित फिल्मकर्मीलाई निम्त्याएको बताए ।
‘किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि विद्यार्थीले हासिल गरुन् भनेर हामीले उद्योगका प्रोफेसनललाई विद्यार्थीसँग साक्षात्कार गराएका हौँ । यो अवसर भोलिका दिनमा एक अर्कालाई जोड्न सेतुका रुपमा काम गर्छ कि भन्ने पनि हाम्रो विश्वास हो,’ पन्तले भने ।
अस्कर कलेजको यो १६ औँ ब्याच हो ।