कलाकारलाई पनि ‘रातो पासपोर्ट’

नेपालमा कलाकारलाई सिंहदरबारमा नै कठिनाई छ भने विदेश यात्रामा त झन् के होला ? यो त कि कलाकारलाई थाहा छ कि भोग्नेलाई छ । पछिल्लो समय कलाकारलाई रातो पासपोर्ट दिने कुराले चर्चा पाएको छ । चलचित्र बिकासबोर्डको अवलोकनमा पुगेका अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कलाकारलाई पनि रातो पासपोर्ट प्रदान गर्ने आश्वासन दिएर फर्किएका छन् ।

गत शुक्रवार चलचित्र विकास बोर्डको निरीक्षणका क्रममा उनले कलाकारलाई पनि रातो पासपोर्ट प्रदान गर्न सकिने बताएका हुन् ।
मन्त्री खतिवडाले भने, ‘अरु व्यवसायिक क्षेत्रका व्यक्तिहरुले विदेश जाँदा जुन किसिमको पहुँच पाउनुहुन्छ, कतिले रातो पासपोर्ट माग्नुहुन्छ, कतिले भिआइपी कक्षको प्रयोग गर्न पाउनुहुन्छ । त्यो एउटा मर्यादाक्रम र हाम्रा श्रोतका सीमा हेरेर गर्न सकिने कुरा हो ।’

यसका लागि चलचित्र विकासबोर्डलाई सोही अनुरुपको कार्यक्रम ल्याउनका लागि पनि निर्देशन दिएका छन् । कलाकारका लागि अहिले न कुनै भिआइपी कक्षमा राखिन्छ न कुनै सुविधा नै रहेको छ । नेपाली कलाकारले रातो पासपार्ट पाएको खण्डमा विदेशमा पनि स–सम्मान पाउनेछन् की । तर कहिलेसम्म कलाकारले यो पासपोर्ट पाउछन् त्यो भने समय तोकिएको छैन ।

अहिले नेपालमा रातो पासपोर्ट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, संसद्का सभामुख, उपप्रधानमन्त्री, मन्त्री, संसद्का विपक्षी दलका नेता, उपसभामुख, संवैधानिक निकायका प्रमुखलगायतले रातो पासपोर्ट प्रयोग गर्दै आएका छन् ।