भो अत्ती भयो, यती साह्रो नगिरौं न !

दर्शकले विश्वका फिल्म हेरेका छन् । विश्वभरका फिल्म हेरेर स्वाद लिएका दर्शकलाई नेपाली फिल्म बनाउनेले हेलचक्राई गरेर फिल्म बनाए भने कस्तो रस पस्ने हो ? नेपाली फिल्म बनाउनेहरुले सोच्नुपर्ने समय आएको छ । अब फिल्म बनाउँदा गम्भिर हुन सिकौं ।

कलाकारले कलाकारको इज्जत गरौं, फिल्म क्षेत्रलाई बदनाम नबनाऔं । दर्शकले फिल्मको नयाँ स्वाद खोजिरहेको बेलामा यो बारेमा कुरा गर्नुपर्ने हो । तर, नेपाली फिल्मले अहिले आफ्नो पत्ता काटिरहेको छ । आफूलाई नै झुर देखाइरहेको छ ।  भूवन केसी र निर्देशक भूवन केसीको विवादले अब नांगो खेल देखाउन थालेको छ । भूवन केसी र साम्राज्ञीले त एक जनाले अर्को जनालाई आरोप लगाइरहेका थिए ।

तर, अब आरोपमा बाहिरि मान्छेको तल्लो स्तरको टिप्पणी प्रवेश गरेको छ । सुटिङको समयमा हुने गरेका नितान्त व्यक्तिगत कुरालाई सार्वजनिक गर्न किन अग्रसर भएका प्रोडक्शन कन्ट्रोलर गणेश सापकोटा । उनले कसको इशारामा यो कुरा बोलेका थिए । भूवन केसीले उनलाई यो बोल्न लगाएका हुन् भने, भन्नैपर्छ भूवन केसीले कमाएको नामले यस्तो शोभा दिदैन । गणेश सापकोटाले छायांकनको बेलामा साम्राज्ञीले गाँजा मागेको कुरा गरे । यो सुटिङको क्रममा भएको व्यक्तिगत कुरा होइन । छायांकनको बेलामा कसले के खान्छ, कसले के माग्छ, को कोसँग जान्छ भन्ने कुरालाई सार्वजनिक गर्न थालियो भने गोपनियता भन्ने चिज कहाँ जान्छ होला ।

काम गर्ने कलाकारले कसरी काम गर्ने, कलाकारले निर्देशकले छोएको कुरालाई पनि सार्वजनिक गर्ने हो भने निर्देशक, कोरियोग्राफरले नै कसरी काम गर्ने । यो बिषयमा साम्राज्ञीकी आमाको चरित्र हत्या गर्ने कोशिश किन गरिएको हो ।

चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदिपकुमार उदयले गणेश सापकोटाले गरेको टिप्पणी व्यक्तिगत भएको र उनीबाट यस्तो अपेक्षा नभएकाले माफी माग्न आग्रह गरेका छन् । यस्तै, टिप्पणी अरु फिल्मकर्मीले पनि गरिरहेका छन् ।

कोहीसँग झगडा पर्छ भने यसलाई बाहिर नल्याई नै टुंग्याउनु राम्रो हो । साम्राज्ञी र भूवनले यो विवादलाई साम्य पार्नुपथ्र्यो । दुबैजना यसमा चुकेका हुन् । तर, गणेशले गरेको टिप्पणी तल्लोस्तरको छ । फिल्म बनाउने बौद्धिक स्तरका फिल्मकर्मी यति तल गिरे भने के हुन्छ ? भो अब त अत्ती भयो, यत्ती तल पनि नगिरौं न ।