बिकिनी लगाएको शरीर ‘नाङ्गो’ देख्ने तपाइँको सोच चै नांगियो शोभित जी !

फिल्मलाइनमा गज्जबको फुर्सद लागेको छ । नाम होस् बदनाम होस् तर गुमनाम हुन भएन यो भनाइ त चरितार्थ नै भएको छ । दीपा श्री निरौलाको महानायक विवादले लामै समय स्थान पायो । जसले अन्तर्वार्ता लिए उनैले गालीको बर्षा सुरु भए संगै गाली नगर्न आग्रह गर्दै स्क्रिप्टेड पोष्ट सामाजिक संजाल मार्फत सार्वजनिक गरे । दर्शक बिरोधमा उत्रिए भने फिल्मकर्मी दिपाको बचाउमा लागे । अहिले केही हद सम्म साम्य भएको छ यो घटना ।

तर त्यही अन्तर्वार्ता आसपास सुरु भएको साम्राज्ञी भुवन विवाद भने अझ चर्किदै गएको छ । चर्किदै भन्दा पनि ‘चर्काउदै’ गएका छन् फिल्मकर्मीले नै । भुवन केसी र साम्राज्ञी आरएल शाह विवाद एक तर्फ भयो भने अर्को तर्फ कुनै सम्बन्ध नै नभएका फिल्मकर्मीले आफ्नै आखाँले नै देखे झैँ गरी दिएको अभिव्यक्ति अर्को पाटो । को सहि को गलत समय अन्तरालमा थाहा होला । तर सहि गलत हुने भनेको साम्राज्ञी र भुवन नै हुन् न की चर्चामा आउन अन्तर्वार्ता र सामाजिक संजालमा बल्दै हिड्ने कलाकर्मी । दुखद पक्ष त के छ भने आफ्नो चरित्र हत्त्या भएको भन्दै कलाकार संघ धाउने उनै भुवन नै साम्राज्ञीको चरित्रहत्या गरिएको अन्तर्वार्ता पैसा तिरेर सेयर गर्दै बसिरहेका छन् । उनकी नजिककी साथी साथै पछिल्लो समय फिल्म निर्माणकी सहकर्मी जिया केसीले समेत यस काममा साथ दिएकी छन् ।

फिल्म ड्रिम्सका लागि नायिका साम्राज्ञी थिइन् भने प्रोडक्सन म्यानेजर गणेश सापकोटा रहेका थिए । (हाल उनका सबै अन्तर्वार्ता हटाइएको छ) उनी केही अन्तर्वार्तामा देखिदै गाँजा खुवाएको देखि उनकी आमाका प्रेमीको विषय समेत उठाउन पछि परेनन् । यति मात्रै नभएर छायांकन भैरहेको समयमा कोई केटा मोटरसाइकल चढेर लिन आउदा साम्राज्ञी सेट छोडेर गएको सम्म बयान गर्न भ्याए । साथै २५००० मा काम गर्न तयार भएर पछी ५लाख बार्गेनिंग गरेको समेत भनेका छन् । कति सहि कति गलत, जवाफ पक्कै आउला । तर नेपालमा अबैधानिक ‘गाँजा’ खुलेआम ‘मैले खुवाए’ भनेर गर्भ गर्दा उनलाई र ड्रिम्स टिमलाई कानुनको दायरामा ल्याउन जरुरी छ कि छैन होला ? हुन त आफुलाई ठुलो ब्राण्ड भने कलाकारले खुलेआम ‘म गाँजा खान्छु’ भनेर संचारमाध्यममा अभिब्यक्ति दिदा समेत रमाइलो मान्ने हामी दर्शकले यसलाई पनि सामान्य नै मान्नु पर्ने होला । ‘भिटेन’ होइन नि गीत गएर जेल जान । ठुला भनिएका ब्राण्डलाई त जे गर्न पनि छुट छ क्यारे । साथै आमाका प्रेमीको विषय सामाजिक संजालमा उठाउन कति जायज कति नाजायज ? यसले उनको र उनकी आमा जो फिल्ममा कहिँ पनि जोडिन्न, को चरित्र हत्या भयो भएन होला ?

केही समय अघि दर्शकको प्रतिक्रिया गलत आएकोले कमेन्ट हटाउन धम्की दिने नायिका र नायिकाको समूह साम्राज्ञी माथि यतिका समयबाट फिल्मकर्मीले नै प्रहार गर्दा कता छन् पत्तो छैन । हुन त साम्राज्ञीको न त यो क्षेत्रमा आफ्नो ग्रुप छ न त ठुलो ब्राण्ड नै । के को लागि बोल्ने होला र जाबो एक्ली केटीको लागि । न त फिल्म पाउने आसा न मिलेर काम गर्ने अपेक्षा । बरु केही बोलेन भने त “ठुलो ब्राण्ड’ बाट कामको अफर पनि त पाउन सकिन्छ, केमियो रोल नै किन नहोस् ‘ब्राण्ड’ हो नी । यहि हो नि, हैन नायिका ज्युहरु ।

दीपाश्रीको विषयमा कुराकानी गर्ने क्रममा एक नायिकाले ‘मरे पछि सहानुभुती दिने होला नी’ भन्ने अभिव्यक्ति याद आयो । दीपा २दिन मै डिप्रेसनमा पुगेको खबर फिल्मकर्मीले लेख्दै मेट्दै गरेका थिए । यतिका लामो समय यसरी व्यक्तिगत तवरमा उत्रेर साम्राज्ञी माथि प्रहार गर्दा उनको त्यो चासो कति अघि बढ्यो उनी आफैँ जानुन् । व्यक्तिगत स्वतन्त्रताको विषय हो । हामीले कसैलाई केही भन्नुस भनेर जबर्जस्ति गर्न पनि मिल्दैन । किनकी बोल्ने बेला बोलेर, मिडियामाथि नै खनिएर आफु चोखिने परिपाटी त पुरानै हो । भुवन र साम्राज्ञी आफैँ खुलेर नआए सम्म जसले जे बोले पनि समस्या अझ बढ्ने मात्रै हो समाधान हुने होइन ।

शोभित बस्नेतले पटक पटक ‘म ग्यारेन्टी’ लिन्छुको शैलीमा साम्राज्ञी गलत भएको बताउदै आएका छन् । एक दुइ ठाउ नभनेर धेरै अन्तर्वार्तामा उनी यहि अभिब्यती दोहोर्याउदै छन् । यहि विषयमा केही कुरा स्पस्ट पार्न जरुरी देखिन्छ । ‘ड्रिम्स’ फिल्म जसको कारण यो विवाद भएको भनिएको छ, को विवरण समेटिएको स्थानमा शोभितको नाम कही पनि देखिदैन । अब उनी फिल्ममा संलग्न नै छैनन् भने के भएको थियो केको आधारमा ठोकुवा गर्दै छन् ? फिल्ममा लिएको पारिश्रमिक देखि बार्गेनिंग सम्मको कुरा शोभितलाई कसरी थाहा भयो ? कि अन्तर्वार्तामा अरु कसैले बोलेको सुनेरै प्रतिक्रिया दिदै हिडेका हुन् ? संचार माध्यममा समेत नआएको कुरा अर्का फिल्मकर्मी सम्म कसरी पुग्यो ? जवाफ कसले दिने ?

शोभितको अर्को ठोकुवा ‘साम्राज्ञी अब फिल्म क्षेत्रबाट रिटायर भै सकिन् । ठोकुवा गरेर भन्छु ५वर्ष पछि उनको नाम निसाना फिल्म जगतमा रहदैन ।‘ शोभितको पैत्रिक सम्पति हो फिल्म जगत ? कि फिल्म क्षेत्रको ज्योतिसकर्ममा छन् उनी ? उनले यो आरोप अन्य कलाकार र निर्देशकको हकमा समेत लगाएका छन् । अब नेपाली फिल्ममा टिक्नको लागि शोभित भएको ठाउँमा पुगेर अनुरोध गर्नु पर्ने हो त ? हैन भने स्वतन्त्र भएर काम गरिरहेका कलाकारको भविष्य निर्धारण गरिदिने उनले आफ्नो भविष्य कतिको सुरक्षित देखेका छन् ?
‘साम्राज्ञीको नाङ्गो फोटो’ यो अर्को उनको अचम्म लाग्दो अभिव्यक्ति थियो । साम्राज्ञीको नाङ्गो फोटो कहिले पनि सार्वजनिक भएको छैन । समुन्द्र तटमा लगाएको बिकिनीलाई नदेखेर नाङ्गो शरीर देख्ने उनको नियतलाई भने उनकै अभिव्यक्तिले नंग्याएको छ । व्यक्तिगत जीवन एक कलाकारको हुन्छ कि हुदैन ? उनले फोटो लिक भएको बताउदै माफी समेत मागेको स्थितिमा उनी माथि यस्तो तल्लो स्तरको टिप्पणी किन ? फेरी, उनी आफ्नो प्रेमी संग रमाइलो गर्न गएको विषयलाई लिएर उनको चरित्रमा औला उठाउन हामी को हौ ? आफ्नो पार्टनर बीच जुन सम्बन्ध हुन्छ त्यहि कुरा दुनियाँसंग गर्दै हिड्छ भन्नु कति सहि कति गलत शोभित जी ? विवाहित हुदा हुदै पनि पर स्त्रीसंगको सम्बन्ध खुलेआम राख्दै हिड्ने बस्नेतले एक बयस्क युवतीको प्रेम सम्बन्धको विषय यस्तो टिप्पणी गर्न मिल्छ ?


‘बिरगंजमा रिक्सा चडेर हिड्ने केटीलाई भुवनले कार चढ्ने बनायो’ रे । तपाइकै कुरा पछ्याउने हो भने साम्राज्ञीले ड्रिम्समा एक लाख पचास हजार पारिश्रमिक लिएकी रहिछिन् । तपाइँ आफैँ भन्दिनुस बस्नेत जी, त्यति पैसामा कस्तो कार आउछ ? फेरी भुवनले दया गरेको होइन । साम्राज्ञीलाई कामको खाचो भए झैँ भुवनलाई ‘कामदार’ (नायिका) को खाचो थियो । मनिषा कोइरालाको विषयमा भारतले तल्लो स्तरको टिप्पणी गर्दा उनको समर्थनमा ‘काम गरेर बलिउडलाई चिनाउन मदत गरेको’ भन्दै गर्भ गर्ने फिल्म जगतका कलाकार साम्राज्ञीले फिल्ममा डेब्यु गराएकै भरमा जिदगीभरी भुवनको सबै कुरा स्विकार्नु पर्छ भन्ने छ र ? भुवनको बानी हो बाबा भन्ने अंकमाल गर्ने भन्ने कलाकर्मीहरु आफु सहज छैन भने आफ्नै श्रीमानले छोएको समेत सहर्ष स्वीकार्न पर्दैन भन्छ नेपालको कानुनले । यो विषयको ज्ञान छे छ कि छैन ? अनि आफु सुध्रिनु त कता हो कता छोएर बोलेको अंकमाल गरेको विषयलाई प्रसय दिदै हुनुहुन्छ तपाइँहरु ?

‘हाम्रो फिल्म जगतको फोटो, भिडियो र अवार्डलाई आधार मानेर बिहे गर्छौ विदेशमा सेटल हुन्छौ । हाम्रो फिल्म क्षेत्रको फोटो देखाएर धनाड्य प्रेमी घुमाएको छौ ।‘ शोभित जी तपाइँको पैत्रिक सम्पति हो फिल्म जगत ? तपाइको बाहेक अरु कसैको केहि योगदान छैन ? याद राख्नुस तपाइँले नया खोलेको स्टुडियो छ नि त्यो चलाउन समेत तपाइँलाई धेरै जनाको साथको खाचो छ । तपाइँले बनाउने फिल्म तपाई एक्लैले बनाउन सक्नु हुन्न । आफु माथिको घमण्ड बढी पो भयो की ? एउटा लाइट म्यान देखि सपोर्ट ब्वाई सम्मको आफ्नै भूमिका रहन्छ फिल्म जगत ज्युदो रहनुमा । कोहि एउटाले बचाउदा बाच्ने र कसैले सक्काउदा सकिएन हैन फिल्म जगत ।

अर्को कुरा साम्राज्ञी लगायत अन्य कलाकारको व्यक्तिगत जीवन प्रति तपाइँको चासो किन यति धेरै ? तपाइँको पनि छोरी छिन् । अब तपाइँको छोरी राम्रो देशमा पढिरहेकी छिन् । यसमा के गलत भयो ? भोली धनि केटासंग विवाह होला, विदेशमै बसोबास गर्न थाल्लिन । त्यसमा के गलत छ ? छैन नी । कि तपाइँ आफ्नो ज्वाई चै फुटीकौडी नभएको केटालाई बनाउने हिम्मत राख्नु हुन्छ ? राख्नु हुन्न भने अरुको विहे र बाकि जीवनको विषयमा बोल्न बन्द गर्नुस । तपाइँ र तपाइँको परिवारलाई समेत दर्शकले नजिकबाट नियालेका छन् । दर्शकले बोल्नु पर्ने समयमा पक्कै बोल्लान ।

अझ अर्को कुरा फिल्म जगतमा काम गर्दाको तस्विर रे । तपाईले पैसा तिरेर खिचिदिएको या तपाइँको मातहतमा रहेको तपाइँसंग प्रतिलिपि अधिकार भएको तस्विर त होइन होला नी साम्राज्ञीको । कि तपाइँलाई सोधेर उसले उसको हुनेवाला श्रीमानको घरमा लगाउन परोस । अति गर्नु अत्याचार नगर्नु भन्छन् । साम्राज्ञीको प्रेमीको पैसा, खानदान तपाइको चासोको विषय कसरी भयो ? साम्राज्ञी उसको क्षमता र अभिनयको कारण चलेकी हुन् न कि ब्यानर र अरु केही ।
तपाइँले राजु गिरीको प्रसङ्ग समेत निकाल्नु भयो । तपाइँ आफैँलाई थाहा छ तपाइँका फिल्म कस्तो बनेका छन् ? आफैँ मपाईं बन्न बन्द पो गर्ने हो की ? ‘तुलशी घिमिरेले फिल्म जगत छोडे मैले छोडिन’ रे ! दर्शक हास्छन् बस्नेत जी । बोल्दा बिचार गर्नुस ।

‘पाए सम्म कसले छोड्छ र । मिले सम्म मिलाएर गर्ने नै हो ।‘ वा वा वा आफुलाई पुराना फिल्मकर्मी भन्दिए हुन्थ्यो झैँ गर्ने बस्नेत जी, तपाइँ त खै । तपाइँ सोच चै अठारौ सताब्दीको पितृसतात्मक समाजको पुरुच सोचको प्रतिनिधि सोच रहेछ नी । नेपालमा बिवाह पछिको सम्बन्धलाई नाजायज मात्रै हैन कानुनको खिलाफ मानिन्छ । यस्तो विषयमा खुलेआम बोल्दै हिड्ने तपाइँ ?

‘मलाई साम्राज्ञीले चिन्दिन रे । तर मेरो बायोडाटा था छ । १, २, ३… भन्दै नचाएर दुई लाख पैसा मैले दिएको हो ।‘ तपाइँको सोचलाई नै आधार मान्ने हो भने त तपाइँलाई साम्राज्ञी मात्रै हैन तपाइँको आफ्नै परिवारले समेत चिन्न, सम्मान गर्न लायक देखिनु भएन । दर्शकलाई टाढा राखौ । तपाइँले भिख दिएको हो शोभित जी ? कि के हो ? काम गरेर पारिश्रमिक लिनु त पर्यो होला नी । कि फ्रीमा गरिदिइन् भन्ने गुनासो हो ? र तपाइँलाई हैन कलाकारले कामलाई चिन्न जरुरी छ ।

नेपाली फिल्म क्षेत्र धेरै सानो छ । भुवन साम्राज्ञी केस उनीहरु दुवैले मात्रै समाधान गर्न सक्छन् । बोल्न पाउदा जे पनि बोल्दिदै गर्दा सिंगो फिल्म जगत मै असर पर्ने काम नगरौ । सकिन्छ मिलेर बसौ, सकिदैन झगडा नगरौ । र, मुख्य कुरा आफु र आफ्नो चासो नभएको विषयमा बोल्दै नबोलौं । हुन्न र ?