ग्रुपिज्म नहोला, ग्रुप त छ नी ?

अभिनेत्री नम्रता सापकोटालाई फिल्म क्षेत्र फापेन । उनी टिकटक र तीज गीतको मोडलिङमा रमाएकी छन् । यसैले पनि नम्रताले लक डाउनको समयमा नेपाली फिल्ममा हुने गरेका ग्रुपिज्मको कुरा गर्दा उनलाई साथ दिने भन्दा आलोचना गर्ने बढी थिए ।

नम्रताले सिफिल्माम सफलता नपाएपछि यस्तो भनेको भनेर पनि भनिएको हो । तर, नम्रताले उठाएको एउटा बिषय पनि गलत थिएन । उनले ग्रुपिज्मको कुरा उठाइरहँदा नेपाली फिल्ममा ग्रुप भने छ ।

निर्देशक रामबाबु गुरुङ अभिनेता दयाहाङ राइविना फिल्म नै बनाउँदैनन् । उनले बनाएका कबड्डीका ३ वटा सिरिजमा दया छन् । पुरानो डुङ्गा, साइली लगायतका फिल्ममा पनि दया छुटेका छैनन् । रामबाबु निर्माता भएर बनेका फिल्मको हिरो दया हुन् । दया र रामबाबुको ग्रुपले फिल्ममा अरु कलाकार लिएको छैन ।

देशमा व्यवसायको हिसावले ब्लकबस्टर फिल्म दिने दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, दीपाश्र निरौलाको ग्रुप पनि बलियो छ । यो ग्रुपमा अरु हाँस्य कलाकार अटाउँछन् फेरि निस्कन्छन् । तर, यो समुहलाई हल्लाउन कसैले सक्दैन । यो समुहले बनाएको फिल्मले व्यापारमा रेकर्ड तोडेका छन् । यो ग्रुपमा हिरोइनहरुको प्रवेश पनि आफ्नै तरिकाले हुन्छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत यो ग्रुपमा प्रिय छन् । दिपिका प्रसाँइले यो ग्रुपसँगको सहकार्यलाई लामो बनाउन सकिनन् । अभिनेत्री केकी अधिकारीको के हुन्छ अर्को फिल्मको हिरोइन घोषणा भएपछि भन्न सकिन्छ ।

निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्माको ग्रुपमा हिरो फेरिएपनि हिरोइन फेरिदैनन् । पूजाको विकल्पको रुपमा अरु हिरोइन सुदर्शनले सोचेका छैनन् । एउटा अन्तर्वार्तामा उनीहरुले म यस्तो गीत गाउँछुमा हिरो र हिरोइन नै परिवर्तन गर्नुपर्ने सोचेको बताएका पनि छन् । तर, सोचेर मात्र हुदैन, अन्तमा पूजा नै हिरोइन भएकी थिइन् ।

निर्माता छविराज ओझाले पनि ग्रुप बनाए । रेखा थापाविना उनले फिल्म नै बनाएनन् । घरमै हिरोइन हुँदा हुँदै अरु हिरोइन किन लिने भनेर उनले रेखालाई मात्र फिल्म खेलाए । रेखासँग सम्बन्ध विग्रन थालेपछि उनले शिल्पा पोखरेल भित्राए । शिल्पा पोखरेल पनि अहिले छविको ग्रुपमा छैनन् । अहिले त छविको ग्रुप नै भत्किएको छ । बरु, उनी बहुबिबाह र पारपाचुकेको मुद्दा खेपिरहेका छन् ।

नेपाली सिनेमामा ग्रुपिज्म छ या छैन तर्क दिएर बहस हुने गरेका छन् । तर, नेपाली फिल्ममा ग्रुप भने छ । जसले आफ्नै ग्रुपको वरिपरी रहेर सिनेमामा काम गर्छन् ।