मेरोफिल्म बहस : के साँच्चै राजेश हमाल महानायक हुन् त ?

        एक साताअघि कलाकार एवम् निर्देशक दीपाश्री निरौलाले अभिनेता राजेश हमालको ‘महानायक’ सम्बोधनप्रति गरेको टिप्पणी अहिले नेपाली फिल्म क्षेत्रको ‘हटकेक’ विषय बनेको छ । ‘रजतपट अंकल’का प्रस्तोता प्रकाश सुवेदीले हमाललाई महानायक भनेर सम्बोधन गर्दा दीपाले ठट्यौली पारामा जवाफ दिँदै भनेकी थिइन्, ‘महानायक दाईले नै बनाइदिनुभएको हो ।’

प्रकाश स्वयम्को दाबी छ, पहिलोपल्ट आफ्नै कार्यक्रम ‘रजतपट’मार्फत राजेशलाई उनले महानायक पदवी दिएका हुन् । पछि चलचित्र प्राविधिक संघले पनि महानायक पदवी दिँदै सम्मान गर्यो । त्यसपछि दर्शकले पनि त्यसैलाई पछ्याउँदै राजेशलाई महानायक भन्न थाले । दीपाश्रीले प्रकाशको कार्यक्रममा राजेशको उपस्थित अहिले फिल्म क्षेत्रमा पहिलेजस्तो नभएको आशय व्यक्त गर्दै भनेकी थिइन्, ‘महानायक हुनुहुन्छ र ?’

उनले राजेशलाई आफूले महानायक नमान्ने त भनेकी थिइनन् तर उनको प्रस्तुुति महानायक सम्बोधनप्रति असहमति भने महसुस हुन्छ । हमालले अफर आएकै भरमा जथाभावी फिल्म खेल्दा त्यसले नेपाली फिल्मको संख्या त बढायो तर गुणस्तरमा खासै उपलब्धी गर्न नसकेको उनको आशय थियो ।

तर, दीपाको यो टिप्पणी सामाजिक संजालमा यसरी फैलियो कि अहिले उनीप्रति भद्दा गालीको श्रृंखला रोकिएको छैन । फिल्म निर्देशक अशोक शर्माले त यही कारण दीपाश्री डिप्रेसनमा पुगेकोसम्म लेखेका छन् । उनी डिप्रेसनमा पुग्ने अवस्थामा रहेको खबर बाहिरिएपछि भने पहिले दीपालाई गाली गर्नेहरु नै अहिले उनलाई सान्तवना दिन अग्रसर देखिन्छन् ।

यता आफूमाथि आलोचना प्रायः मौन बस्न रुचाउने अभिनेता हमाललाई भने यसपटक साह्रै चित्त दुखेछ, मिडियामा खुलेर भनिदिए, ‘म त सुपरस्टार हुँ भनेर चुज गर्न थालेको भएँ, फलानो कलाकारसँग मात्रै फिल्म खेल्छु भनेको भएँ जो व्यक्तिले अभिव्यक्ति दिनुभएको छ उहाँ नै गोली सिसामा गीतमा नाच्ने अभिनेत्रीमा पर्नु हुन्नथ्यो होला । म त सुपरस्टार हुँ, उहाँसँग किन काम गर्नु भन्थे होला, यदि चुजी भएको भए !’

आफ्नै कारण दीपाश्रीले ‘गोली सिसा’मा गीतमा नाच्न पाएको हमालको आशय थियो । दीपाश्रीले हमालप्रति प्रश्न गर्दा सोसियल मिडियामा जसरी ठूलो समुह  खनिरहेको छ, हमालले दीपाश्रीबारे त्यस्तो संकेत गर्दा कसैले यसलाई हमालको ‘दम्भ’ भनेको छैन ।

यो त भयो, अहिलेको हटकेक विषयमाथि छोटो चर्चा । मुल प्रश्न त के हो भने अहिले भइरहेको ‘महानायक’ बहस कत्तिको सान्दर्भिक हो ? २५ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय हमाल साँच्चै महानायक हुन त ? ‘अव हलिउडलाइ महानायक नचाहिने , इरानी फिल्मलाई महानायक नचाहिने ,कोरियनलाई महानायक नचाहिने तर नेपालीलाई महानायक चाहिने ?,’ निर्देशक एवम् समीक्षक दिपेन्द्र लामा प्रश्न गर्दै भन्छन्, ‘मेरो विचारमा पर्दाभित्र मात्र नायक हुन्छ । पर्दा बाहिर उ कलाकार – अभिनेता मात्र हुन्छ । महानायक भन्ने शब्द नै गलत छ । कि महाअभिनेता भन्नु  पर्यो कि त महात्मागान्धी जस्तो महानायक हुनुपर्यो । कि त विपी कोइराला जस्तो महानायक हुनुपर्यो । त्यतातिर बहस हुन सक्छ । तर यता राजेश हमाल , भुवन केसी , शिव श्रेष्ठलाई महानायक भन्ने पक्षमा म छैन । धेरै फिल्म खेल्नु एउटा उपलब्धि होइन । धेरै फिल्म खेलेपछि गिनिज बुकमा नाम दर्ता हुनसक्छ तर राम्रो फिल्म खेल्यो भने त्यो अभिनेता सधैँ दर्शकको मनमा रहिरन्छ ।’

महानायकलाई लिएर सबैले आ–आफ्नो भनाई राख्न पाउनुपर्ने दीपेन्द्रको मत छ । ‘कसैले कसैलाई महानायक मान्दैन भने त्यो उसको अभिव्यत्तीको कुरा हो । यसमा बहस गरेर समय खेर फाल्नु हुँदैन,’ अहिलेको दीपाश्री विवादलाई संकेत गर्दै उनले भने ।

अहिले धेरैले हमाल महानायक हुनुको कारण लगातार हिट फिल्म दिएको, धेरै संख्यामा फिल्ममा अभिनय गरेको तर्क दिइरहेको छन् । हमाल स्व्यम् भन्ने गर्छन्, आफू फिल्म क्षेत्रमा आउनुभन्दा अगाडी नेपालमा वर्षेनी मुस्किलले १–२ वटा फिल्म बन्थे । आफू आएपछि फिल्म निर्माणको संख्या बढेको भन्ने उनको तर्कमा केही हदसम्म सत्यता छ । अहिले धेरै तर्कले गरिरहेझै पोस्टरमा उनको टाउको राखेकै भरमा सिनेमा चल्ने अवस्था पनि थियो नै ।

तर, के उनले आफ्नो यो स्टारडमलाई नेपाली फिल्मको स्तरोन्नती र गुणस्तरका खातिर प्रयोग गरे त ? गुणस्तरीय फिल्म निर्माणमा कहिल्यै भूमिका खेले त ? आफ्नो टाउकोको पछि दौडिरहेका ति दर्शकलाई बलिउड मर्काका सिनेमा हेराउनबाट मुक्ति गराए त ? उनले आफैले आफैलाई ऐनामा हेरेर प्रश्न गर्दा पनि सायद यत्रो अभिनय करिअरमा आफूले गरेको सम्झनलायक फिल्मको सुची बनाउनु पर्यो भने पक्कै उनलाई सकस हुनेछ ।

सिनेमाले त सम्बन्धित देशको समाजसँग बलियो अन्तरक्रिया गर्नुपर्ने हो, त्यहाँको समाजमा गहिरो प्रभाव छाड्न सक्नुपर्ने हो । तर, राजेशहमाल कालकै कारण नेपाली सिनेमा यस मामिलामा निकै कमजोर देखियो । हमालले स्वयम्ले केही समयअघि साप्ताहिकसँगको कुराकानीमा यो यथार्थ स्वीकार्दै भनेका थिए, ‘केही त्यस्तो सिनेमा बीच–बीचमा बनिरहनुपर्यो, जसले सही मानेमा समाजमा डिस्कोर्स चलाउन सकोस्, समाजसँग गम्भीर अन्तरक्रिया गरोस् । त्यसो नहुनुमा चाहिँ म निर्देशककै अभाव देख्छु । ’

उनले फिल्मको ड्राइभिङ सिट हुने निर्देशककै कारण त्यस्ता सिनेमा बन्न नसकेको आरोप लगाएका थिए । तर, त्यतिबेला उनको टाउकोको पछि दौडिरहेका निर्माताकै कारण निर्देशकहरु त्यो रिस्क मोल्न तयार भएनन् कि ? यदि आफूलाई सर्जक भएर सोच्ने हो भने  उनी आफैले त्यसको नेतृत्व लिनुपथ्र्यो कि ? यसको आत्मसमीक्षा जरुरी छ ।

हमाललाई अभिनयको बलमा भन्दा लामो कपाल र गठिलो शरीरको बलमा बनेका कलाकार हुन् भन्ने आरोपसमेत लाग्ने गर्छ । तर, यसलाई उनी स्वीकार गर्दैनन् । तर, सिनेको संख्या बढाउन र सिनेमा निर्माणको माहोल सिर्जना गर्न आफूले भूमिका खेलेको सधैँ बताइरहन्छन् ।

अभिनयका गुरु रंगकर्मी अनुप बराल कसैलाई महानायकको सम्मान दिनु उसकोे निजी कुरा रहेको बताउँदै भन्छन्, ‘कलाकारलाई उर्जा दिनका लागि उपाधि दिनु राम्रो पनि होला एक किसिमले । कोही कलाकार कसैलाई महानायक नै लाग्ला, कसैलाई नलाग्न सक्छ । तर, कुनै पनि कलाकारलाई यसरी खास क्याटगोरीमा राख्दा न्याय हुन्छजस्तो मलाईचाँही लाग्दैन । ’

‘यो महानायकको बहस ल्याउने समय पनि होइन,’ उनले मेरोफिल्मसँग भने, ‘अबका फिल्ममा कसरी गतिदिने होला भन्ने तिर सबै फिल्मकर्मीको ध्यान जान जरुरी छ । र, अर्को कुरा दीपाजीले जुन महानायकको बारेमा चर्चा गर्नुभयो । त्यो उहाँको धारणा हो नि । उहाँले त्यो आफ्नो धारण राख्न पाउने अधिकार छ । त्यस विषयलाई लिएर जुन किसिमले साइबरमा गाली गलौज भइरहेको छ । त्यो चाही ठिक भएन । गणतन्त्र राज्यमा जसले पनि आफुलाई लागेको कुरा भन्न पाइन्छ । आफुले मनमा लागेको कुरा भन्दा जथाभावी गाली गलौजमा उत्रिनुचाँही अत्यन्तै घृणित काम हो । ’

पत्रकार अच्युत कोइरालासमेत महानायक पदवीमाथि सहमत छैनन् । ‘महानायक पदविमाथि मेरो पहिले पनि असहमति थियो, आज पनि छ र भोलि पनि रहन्छ किनभने यो पदविले ’लुलोलंगडो’ भन्दा ’सद्दे’ मान्छे क्षमताशील हुन्छ भन्ने मान्यतालाई स्थापित गर्छ । तर हरेक व्यक्तिको आफ्नै विशिष्ट क्षमता हुन्छ । यस्तो धारणा एक किसिमको छुवाछुत नै हो । तँ विशिष्ट, अरू चाहिँ कम विशिष्ट भन्ने धारणा पनि कतै सही हुन्छ ?,’ उनले फेसबुकमा लेखेका छन् ।

लेखक अभिनाष श्रेष्ठको आजको दिनसम्म नेपाली चलचित्र क्षेत्रले महानायक भन्न सकिने अभिनेता नभेटेको तर्क गर्छन् । ‘अरु जे सुकै भए पनि नेपाली चलचित्र क्षेत्रले आजको दिनसम्म महानायक भन्न सकिन एउटै अभिनेता नभेटेको कुरो भने कटु यथार्थ हो,’ उनले फेसबुकमा प्रतिक्रिया दिएका छन्, ‘ एकता  नेपालीभाषामा बनेका चलचित्रले रिलिजका बेला इनिसियल हानेकै भरमा श्री राजेश हमालजीलाई केहीले महानायकको पगडी जबरजस्ती गुथाउने धृष्टता गरेका थिए । त्यो न वस्तुपरक थियो न तर्कसम्मत नै । हमालजी मान्छे ह्यान्डसम हुन् तर अभिनयमा भने उनी दोयम चहार नै हुन् भन्दा अतिशयोक्ति नहोला । मैले त्यतिबेला पनि धेरैलाई भनेकै हुँ– महानायक हुन एउटा अभिनेतामा धेरै विशेषता हुनुपर्छ । तर नेपालमा मान्छे चलेको बेला वा मान्छे शक्तिमा भएका बेला उसको विपक्षमा तर्क सुन्ने धैर्य कसमा पो हुन्छ र । आज आएर मैले ०५० को दशकमा पटक–पटक भनेको कुरा यथार्थ रहेछ भन्नेहरूको संख्या बढ्ने क्रममा छ । राजेशजी, साँच्चीकै महानायक हुन्थे भने आज उनी जसरी हराएका छन् त्यसरी पक्कै हराएर जाने थिएनन् । कुरो, चलचित्र क्षेत्रको मात्र नभएर नेपाली राजनीतिक क्षेत्र , सामाजिक क्षेत्र , व्यवसायिक क्षेत्र , साहित्यिक क्षेत्र कतै पनि टाढा–टाढासम्म महानायक नदेखिनु भने साँच्चीकै उदेक लाग्दो छ ।’