‘मायाबी’ मेरो सपना होः दीपिका प्रसाँई
नायिका दीपिका प्रसाँइले ‘मायाबी’ आफ्नो सपना भएको बताएकी छिन् । केही बर्षको अन्तरालपछि फिल्मको पर्दामा फर्किन लागेकी दीपिकाले यो फिल्म आफ्ना लागि विशेष भएको बताइन् ।
मिडियासँगको कुराकानीमा दीपिकाले भनिन्–‘यो प्रोजेक्ट ५ बर्ष अगाडिदेखिको यात्रा हो । यो प्रोजेक्ट जब सुरु भएपछि मात्र म गर्भवती भएको थाहा पाएँ । त्यो अवस्थामा मैले कि त सन्तान कि त फिल्म रोज्नुपर्ने अवस्था थियो । तर, मैले भगवानको नाम पुकारेर दुबैलाई जिताउनुपर्छ भने अगाडि बढेँ । फिल्मको छायांकनका क्रममा निकै नै दुख पाएको थिएँ । तर, अहिले दर्शकको उत्साह देख्दा खुशी लाग्छ ।’
दीपिकाले फिल्म छायांकनको क्रममा आफूले एउटा कुरा गुमाउने अवस्था रहेको समेत बताइन् । उनले अगाडि भनिन्–‘मैले निर्देशक दिवाकर भट्टराईलाई अब यो फिल्म म गर्न सक्दिनँ समेत भनेको थिएँ । अन्य नायिका लिनुहोस् फिल्ममा पनि भनेँ मैले । तर, मलाई उहाँले हरेक शब्दमा तिमी छौं, अरूलाई सोच्न सक्दिनँ भन्नुभयो । यसैले मैले यो फिल्म गर्नुपर्यो ।’
दीपिकाले ‘मायाबी’ आफ्नो दोस्रो सन्तान भएको समेत बताइन् । यो ‘पागलपन’ कसको थियो, दीपिका भन्छिन्–‘यो देख्दा निर्देशककै पागलपन देखिन्छ । साथमा, हाम्रो र टिमको पनि पागलपन हो । यसैले, त यो फिल्म हलसम्म आउन सकेको छ ।’
दीपिकाले ‘मायाबी’लाई ‘प्रेमको पागलपन’को कथा भनेकी छिन् । उनले, बाहिरी ब्यानरका वा घरका फिल्ममा काम गर्न आफूलाई कुनै पनि समस्या नभएको बताइन् । अब, निरन्तर फिल्म क्षेत्रमा लाग्ने उनको भनाई छ ।
‘मायाबी’को अर्थ के हो, दीपिकाले भनिन्–‘फिल्ममा अनेकौं तरिकाले मायाबी देख्न सकिन्छ । मायाबीको अर्थ सामान्य रुपमा मायाजालको रुपमा बुझिन्छ । तर, यो फिल्ममा भने मायाबी भनेको आकर्षण हो भनेर देखाइएको छ ।’
ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी रहेको यो फिल्ममा प्रवीण भट्टराई र करण सिंह कार्यकारी निर्माताको रुपमा छन् । फिल्ममा मञ्जु भण्डारी, राजु पराजुली र सुमित वली सह–निर्माताको रुपमा छन् । फागुनको १४ गतेबाट यो फिल्म दर्शकमाझ आउँदैछ ।
दिवाकर भट्टराईको निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशील सिटौला, करिश्मा श्रेष्ठ, समिम खान लगायतका कलाकारहरूको अभिनय छ ।
प्रतिक्रिया