यो बर्ष फिल्म निर्माणमा नायिकाहरुको सक्रियता बढ्यो, को कती सफल ?

वि.सं २०८१ सालमा निर्माण भएका अधिकांश फिल्मले निर्मातालाई राहत नै दिएका छन् । ८ महिनामा करिब दर्जन फिल्मले निर्मातालाई सुरक्षित बनाउनु, ४ वटा फिल्म ब्लकबस्टर हुनु सामान्य कुरा होइन ।

यो बर्ष नायिकाहरूको फिल्म निर्माणमा सक्रियता ह्वात्तै बढेको पाइन्छ । नायिका ऋचा घिमिरे, पूजा शर्मा र केकी अधिकारी बाहेक अधिकांश नायिकाहरूले यो बर्ष पहिलो पटक फिल्म निर्माण गरे । 

वैशाखको १४ गते रिलिज भएको फिल्म ‘बोक्सीको घर’ले बक्स अफिसमा १० करोडको आँकडा पार गर्यो । उसो त केकीले पहिलो पटक फिल्म ‘कोहलपुर एक्सप्रेस’मा लगानी गरेकी थिइन् ।

यो फिल्म बक्स अफिसमा असफल मात्र भएन चोरीको आरोप खेप्न पनि वाध्य भयो । तर, दोस्रो फिल्मले भने केकीलाई निर्मात्रीको रुपमा पनि सफल बनाइदियो ।

नायिका शिल्पा मास्केले यो बर्ष फिल्म ‘देवी’मा लगानी गर्दै आफूलाई निर्माताको रुपमा अगाडि ल्याइन् । यो फिल्म बक्स अफिसमा सफल त भएन । तर, शिल्पाले आफूलाई निर्माणमा पनि सक्रिय रुपमा अगाडि ल्याउने वातावरण बनाइन् । 

नायिका पूजा शर्मा निरन्तर फिल्म निर्माणमा सक्रिय छिन् । कहिले सफलता त कहिले असफलता भोगिरहेकी पूजालाई यो बर्ष ‘रावायण’ले सुख दिएन । फिल्म रिलिज भएपछि फिल्मको आलोचना चर्को भयो । फिल्मबाट राम्रो पैसा घाटा भएपनि पूजा नयाँ फिल्म निर्माणको तयारीमा छिन् । 

नायिका स्वस्तिमा खड्का फिल्म ‘बेहुली फ्रेम मेघौली’बाट निर्माणमा अग्रसर भइन् । यो फिल्मबाट स्वस्तिमाले तिता–मिठा अनुभव दुबै बटुलेकी छिन् । तर, स्वस्तिमाले अब आफूलाई निरन्तर रुपमा निर्माणमा अगाडि बढाउने बताएकी छिन् । 

नायिका नीता ढुंगानाले पनि फिल्म ‘ह्रस्व दीर्घ’बाट पहिलो पटक निर्माणमा हात हालिन् । ६ करोड बजेट खर्च गर्ने हिम्मत गरेकी नीता पहिलो फिल्मको सफलताले नै उत्साहित छिन् । यो फिल्मले नेपाली बक्स अफिसमा १० करोड ग्रस गरेको दाबी निर्माणपक्षको छ । जी फाइब नामक चर्चित ओटिटी प्लेटफर्ममा यो फिल्म विक्री गर्न सक्नु नीताको सफलता हो । 

नायिका ऋचा घिमिरेले फिल्म ‘तेल भिसा’बाट अभिनय र निर्माणमा कमब्याक गरिन् । फिल्म ‘तुलसी’ निर्माण गरेर अमेरिका हानिएकी ऋचा फेरि फिल्म निर्माणमा अग्रसर भइन् । यो फिल्मले बक्स अफिसमा तहल्का त मच्चाएन । तर, ऋचालाई निर्मात्रीको रुपमा फेरि कमब्याक गराएको छ । 

यो बर्ष मात्र आधा दर्जन नायिकाहरूको फिल्म रिलिज भइसकेका छन् । यसले, नायिकाहरूलाई पनि फिल्म निर्माणमा सक्रिय रहेको देखाएको छ । उसो त यसअघि झरना थापा, रेखा थापा, निशा अधिकारी, ऋचा शर्मा लगायतका नायिकाहरूले फिल्म निर्माण गरिसकेका छन् ।