व्यापारमा मात्र होइन विवादमा पनि ‘पुर्ण बहादुरको सारङ्गी’को रेकर्ड
कात्तिकको १५ गतेबाट रिलिजमा आएको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले बक्स अफिसमा ऐतिहासिक रेकर्ड राखेको छ । फिल्मले बक्स अफिसमा ४६ करोड माथिको ग्रस कलेक्शन गरेको वुझिएको छ । अझै, पनि हलमा दर्शकको चाप सुखद छ । फिल्मले बक्स अफिसमा ५० करोडका आँकडा छुने अपेक्षा गरिएको छ ।
बक्स अफिसमा ऐतिहासिक रेकर्ड राखेको यो फिल्मले विवादमा पनि रेकर्ड राखेको छ । फिल्म रिलिज अगाडिदेखि नै सुरु भएको विवाद आजसम्म सकिएको छैन । फिल्म रिलिजको अगाडिदेखि आजसम्म फिल्मलाई लिएर के कस्ता विवाद भए, हामीले यहाँ प्रस्तुत गरेका छौंः
१. नायक प्रकाश सपुतले फिल्मको प्रचारमा साथ नदिएको भन्दै निर्माता विनोद पौडेलले असन्तुष्टि पोखे । फिल्मको ट्रेलर रिलिजमा समेत प्रकाश उपस्थित नभएपछि निर्माता उनीसँग आक्रोशित बने ।
२. निर्माताले मुख खोलेपछि प्रकाशले पनि आफ्नो भनाई सार्वजनिक गरे । प्रकाशले निर्माताले सहमति अनुसार फिल्म रिलिज नगरेको आरोप लगाए ।
३. फिल्म रिलिज भएपछि गायक सपुत प्रचारमा देखिए । हल–हलमा उनी पुगेपछि उनको आलोचना पनि भयो । फिल्म चलेपछि प्रकाशले क्रेडिट खोज्न हलमा पुगेको आरोप लाग्यो ।
४. फिल्मको कथा चोरीको आरोप लाग्यो । उपन्यासकार डाक्टर शिवशंकर बस्यालले आफ्नो उपन्यासबाट फिल्मको कथा चोरिएको आरोप लगाउँदै सामाजिक संजालमा स्टाटस लेखे ।
५. फिल्मले व्यापारिक रुपमा नयाँ–नयाँ रेकर्ड बनाएपछि विभिन्न हलबाट सही हिसाब नआएको भन्दै निर्माताले विज्ञप्ति जारी राखे । देशभरका १९ हलबाट फिल्म उतार्ने घोषणा निर्माताले गरे ।
६. निर्माताले फिल्म निकाल्ने घोषणा गरेसँगै चलचित्र संघले विज्ञप्ति मार्फत आफ्ना सदस्यहरुको बचाउ गर्यो । फिल्मका निर्माताले आफ्ना सदस्यहरुको मानमर्दन गरेको आरोप चलचित्र संघको थियो ।
७. फिल्मको कथा चोरिएको आरोप अर्का फिल्मकर्मीले पनि लगाए । निर्देशक अजित लामिछानेले आफ्नो कथा ‘लाज’बाट फिल्मको कथा चोरिएको आरोप लगाएका थिए ।
८.चलचित्रका निर्माताले फिल्म ‘पुष्पा २’ कारण आफूहरुलाइ कर्नरिङ गरिएको भन्दै फिल्म रिलिज नगर्ने घोषणा गरे । सम्पूर्ण हलबाट यो फिल्म निकाल्ने घोषणा निर्माण कम्पनी सेभेन सिजको थियो ।
९. तर, निर्माताको कुरा वितरकले मानेनन् । वितरकसँग सल्लाह नगरी निर्माताले एकलौटी निर्णय गरेको आरोप लाग्यो । फिल्म हलबाट उतार्ने निर्णयबाट निर्माता पछि सरे ।
१०. चलचित्र संघले एक विज्ञप्ति निकाल्दै फिल्मको निर्माण कम्पनीले चलचित्र संघका सदस्यहरुको मानमर्दन गरेको भन्दै सेभेन सिजले निर्माण गरेको कुनै पनि फिल्म हलमा नलगाउने चेतावनी दियो ।
११. फिल्मको निर्माण कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टका दुई साझेदार रमेश ढकाल प्रतीक सुवेदीले सेभेन सिज सिनेमा प्रालिको नाममा भइरहेको ‘शेयर रकम भुक्तानी’ रोक्का गर्न आग्रह गर्दै सोमबार वितरकसहित चलचित्र संघलाई पत्र लेख्यो । यसले, फिल्मका निर्माताहरुबिच फाटो आएको चर्चा समेत भइरहेको छ ।
यसरी, व्यापारिक रुपमा रेकर्ड राखेको फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’ले विवादमा पनि रेकर्ड नै राखेको छ ।
प्रतिक्रिया