भारतीय फिल्मलाई ‘आच्छु आच्छु’ बनाउँदैछन् नेपाली फिल्म
यो बर्ष नेपाली बक्स अफिसमा भारतीय फिल्म ‘कल्की’ बाहेक अन्यको व्यापार सानदार छैन । अझ, तिहारमा रिलिजमा आएका दुई ठूला हिन्दी फिल्मलाई समेत नेपाली फिल्मले ‘आच्छु आच्छु’ बनाएपछि नेपालमा हिन्दी फिल्म वितरण गर्दै आएका वितरकहरु सोच्ने अवस्थामा पुगेका छन् ।
दशैंमा हिन्दी फिल्म ‘जिग्रा’ रिलिज भएपनि नेपाली फिल्मको अगाडि यसले घुँडा टेक्यो । दशैंको एक साता अगाडि रिलिजमा आएको दक्षिण भारतीय फिल्म ‘देवरा’बाट पनि नेपाली वितरक घाटामा गए ।
तिहारमा रिलिजमा आएका दुई ठूला हिन्दी फिल्म ‘सिंघम अगेन र भूलभूलैयाँ ३’ले नेपाली फिल्मको अगाडि घुँडा टेकिसकेका छन् । यो फिल्म नेपालमा वितरण गरेका वितरकहरूले अपेक्षित नाफा कमाउन सकेनन् । यी दुबै फिल्मको ब्रान्ड र कलाकार ठूलो थियो । तर, नेपाली फिल्म हेर्न ओर्लिएका दर्शकको अगाडि यी दुबै फिल्म निरीह देखिए ।
नेपाली फिल्म ‘पुर्ण बहादुरको सारङ्गी’लाई सुरुमा शोज वितरण गर्दा प्रदर्शकले पत्याएनन् । तर, हलमा रिलिज भएको दुई दिनपछि हिन्दी फिल्मलाई दर्शकले पत्याएनन् । अहिले, ‘पुर्ण बहादुरको सारङ्गी’ले हलमा कब्जा नै जमाएको छ । यस्तो अवस्थामा हिन्दी फिल्म नेपाल ल्याउनु वितरकका लागि ठूलो हानिकारक निर्णय हुनसक्छ ।
यसैले, १ करोड भन्दा बढी भारतीय रुपैयाँ भनिएको दक्षिण भारतीय फिल्म ‘कंगुवा’ नेपाल नआउने भएको छ । केही वितरण संस्था मिलेर यो फिल्म नेपाल भित्र्याउने दौडमा थिए । तर, ‘पुर्ण बहादुरको सारङ्गी’ले हलमा कब्जा गर्नु, शुक्रबारदेखि ‘ह्रस्व दीर्घ’ हलमा लाग्ने भएकाले पनि यो फिल्ममाथि वितरकले जोखिम मोल्न चाहेनन् ।
कुनै समय हिन्दी फिल्मका कारण नेपाली फिल्मका निर्माता प्रदर्शन मिति पछि सार्न वाध्य हुन्थे । तर, अहिले समय बदलिएको छ । अहिले, नेपाली फिल्मको रिलिज मिति हेरेर हिन्दी फिल्म ल्याउने वा नल्याउने अवस्थामा वितरक पुगेका छन् ।
यसले, नेपाली फिल्मले पर्याप्त शोज पाउने अवस्था बनेको छ । दर्शकले पनि नेपाली फिल्मलाई नै बढी विश्वास गर्न थालेपछि विदेशी फिल्म वितरण गर्दै आएका वितरकहरु समस्यामा पर्न थालेका छन् ।
प्रतिक्रिया