के स्टार चाहिँदैन, के भन्छन् प्रदिप र आर्यन ?

फिल्म ‘बोक्सीको घर’ रिलिज भएपछि नेपालमा स्टार अब किन चाहियो भन्ने खालको बहस सुरु भएको छ । फिल्म कथावस्तुकै दममा चल्ने तर्क पनि सुनिएका छन् । फिल्मको कथामा लगानी गरेको खण्डमा दर्शकले रुचाउँछन् भन्ने बहस पनि भइरहेको छ । 

के नेपाली फिल्ममा स्टार चाहिदैन त ? यो बिषयमा मेरो फिल्मले दुई स्टार नायकहरु आर्यन सिग्देल र प्रदिप खड्कासँग जिज्ञासा राखेको थियो । 

यो बिषयमा आर्यन सिग्देल भन्छन्–‘स्टार भनेको ब्रान्ड भ्यालु हो । कुनै चलिरहेको ब्रान्डको लोगो राखेपछि मानिसहरुको ध्यान केन्द्रित हुने गर्दछ । अन्ततः मानिसहरुले गएर हेरेपछि नै के गर्ने निर्णय गर्छन् । यसैले, स्टारले कुनै फिल्मप्रति ध्यान तान्न मद्दत गर्छन् ।’

यता, नायक प्रदिप खड्का भन्छन्–‘स्टारको नाम राखेर प्याकेजिङ गर्न सजिलो हुन्छ । तर, मानिसले एक पटक कुनै कुरा प्रयोग गरेपछि त्यसमा गुणस्तर त हुनै पर्छ । एक्टर भनेको प्रिजम जस्तै हो । एगंल मिल्यो भने सात वटा कलर निस्केला, एंगल मिलेन भने एक दुइवटा मात्र निस्केला । धुलै धुलो छ भने इन्द्रेणी ननिस्केला । मुख्यकुरा त श्रोत हुनुपर्छ । श्रोत नै नभएको ठाउँमा प्रिजम ठड्याएर इन्द्रेणी निस्कदैन ।’

प्रदिपले यो बिषयमा अगाडि भने–‘हामी भनेको प्रिजम मात्र हो । बिषयवस्तु हुनपर्यो । हामी मैबाट इन्द्रेणी निस्कन्छ भन्ने भ्रममा पर्नु भएन । मै हो त सर्वेसर्भा भन्ने भ्रममा पर्नु भने हुँदैन ।’